Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सातौँ सुनाखरी गोल्डकप २०८२ : उपाधिका लागि आयोजक सुनाखरी युथ क्लब र रानीटार युनाइटेड भिड्ने

सातौँ सुनाखरी गोल्डकप २०८२ : उपाधिका लागि आयोजक सुनाखरी युथ क्लब र रानीटार युनाइटेड भिड्ने

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ ५ २०८२


सातौँ सुनाखरी गोल्डकप २०८२ : उपाधिका लागि आयोजक सुनाखरी युथ क्लब र रानीटार युनाइटेड भिड्ने

इलाम । सातौँ संस्करणको सुनाखरी गोल्डकप २०८२ अन्तर्गत खुल्ला तर्फको उपाधिका लागि आयोजक सुनाखरी युथ क्लब र रानीटार युनाइटेड फाइनलमा आमनेसामने हुने भएका छन्। पहिलो सेमिफाइनल खेलमा आयोजक सुनाखरी युथ क्लबले ब्राइटर स्टार फाक्तेपलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। खेलको सुरुवाती १० मिनेटमै तीन गोल गर्दै दबाब सिर्जना गरेको आयोजकका सुर्दशन नेम्वाङले ह्याट्रिक पूरा गरे। उत्कृष्ट प्रदर्शन गरेका नेम्वाङ खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए।

यस्तै, दोस्रो सेमिफाइनलमा रानीटार युनाइटेडले पिपिएफसीलाई ३–१ ले हराउँदै फाइनल प्रवेश गरेको छ। खेलको सुरुवातमै रानीटारका प्रवेश गुरुङले कर्नरबाट आएको बललाई हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। १–० ले पछि परेको अवस्थामा पाएको पेनाल्टीमा पिपिएफसीका म्याग्नेट लिम्बुले गोल गर्न सकेनन्, रानीटारका गोलरक्षक अनुप राईले उत्कृष्ट बचाउ गरे। त्यसपछि पिपिएफसीका गोलरक्षक रोशन लिम्बुको गल्तीको फाइदा उठाउँदै अविनाश गुरुङले दोस्रो गोल गरे भने सौरभ गुरुङले तेस्रो गोल थप्दै अग्रता ३–० पुर्‍याए।

खेलको अन्तिम समयमा पिपिएफसीका कप्तान सुनिल तुम्बापोले सान्तवना गोल फर्काए। उत्कृष्ट प्रदर्शन गरेका रानीटारका सौरभ गुरुङ खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए। भेट्रान्सतर्फ आयोजक सुनाखरी भेट्रान्सले इम्बुङ भेट्रान्सलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। उपाधिका लागि सुनाखरी भेट्रान्सले तिजोक भेट्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। तिजोक भेट्रान्सले हिजो सम्पन्न पहिलो सेमिफाइनलमा बौद्ध भेट्रान्स रानीटारलाई १–० ले हराउँदै फाइनल प्रवेश गरेको थियो।

फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा सुनाखरी युथ क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता माघ ५ गतेसम्म अमर नेम्वाङ स्मृति खेलमैदानमा जारी रहनेछ। प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। साथै प्रतियोगिताका प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ घोषणा गरी ट्रफी प्रदान गरिँदै आएको छ। ८ टिमको सहभागिता रहेको भेट्रान्सतर्फ विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

खुल्ला तर्फको पुरस्कार सुखबहादुर सिङदन तामाङ र तुलबहादुर सिङदन तामाङले प्रायोजन गरेका छन् भने भेट्रान्सतर्फको प्रथम पुरस्कार आनन्द विक्रम नेम्वाङले प्रायोजन गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार