इलाम — नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट इलाम जिल्लाबाट दुई जना नेताहरू केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पूर्व जिल्ला सभापति हिमालय कर्माचार्य र संविधानसभा सदस्य नगेन्द्रकुमार कुमाल केन्द्रीय कार्यसमितिमा चयन भएका हुन् ।
काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गगन थापा नेतृत्वको १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा घोषणा गरेको छ। पार्टीका अनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सबै सहमतिबाट चयन भएका हुन्।
इलामबाट प्रतिनिधित्व गर्ने कर्माचार्य र कुमालको केन्द्रीय समितिमा प्रवेशसँगै जिल्लाको राजनीतिक प्रभाव केन्द्रमा थप सुदृढ हुने अपेक्षा गरिएको छ। स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताहरूले यसलाई इलामका मुद्दा, संगठन सुदृढीकरण र विकास एजेन्डा केन्द्रीय तहमा मजबुत रूपमा उठाउने अवसरका रूपमा लिएका छन्।
विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरूराज घिमिरे चयन भएका छन्। सहमहामन्त्रीहरू विभिन्न समावेशी क्लस्टरबाट चयन गरिएका छन्।
इलामका दुई अनुभवी नेताको केन्द्रीय कार्यसमितिमा उपस्थितिले आगामी दिनमा पार्टी संगठन विस्तार, नीति निर्माण तथा इलामका जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उठाउन मद्दत पुग्ने कांग्रेस इलामका नेताहरूको भनाइ छ।