Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

इलाममा २ लाख ३१ हजारभन्दा बढी मतदाता, पाँच नयाँ मतदान केन्द्र थप

इलाममा २ लाख ३१ हजारभन्दा बढी मतदाता, पाँच नयाँ मतदान केन्द्र थप

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस २५ २०८२


इलाममा २ लाख ३१ हजारभन्दा बढी मतदाता, पाँच नयाँ मतदान केन्द्र थप

इलाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम जिल्लामा मतदाता संख्या दुई लाख ३१ हजार नाघेको छ। जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार जिल्लाभर कुल दुई लाख ३१ हजार ८०९ जना मतदाता दर्ता भएका छन्।

यसमध्ये एक लाख १२ हजार १५८ महिला, एक लाख १९ हजार ६४८ पुरुष तथा अन्य तीन जना मतदाता रहेका छन्। अघिल्लो निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्या वृद्धि भएको निर्वाचन कार्यालयले जनाएको छ। मतदाताको सहज पहुँच र मतदान प्रक्रियालाई व्यवस्थित बनाउन जिल्लाभर १५० मतदान स्थल र २९० मतदान केन्द्र निर्धारण गरिएको छ।

यसपटक भौगोलिक अवस्था, मतदाता संख्या र पहुँचको आधारमा पाँच वटा नयाँ मतदान केन्द्र थप गरिएको हो। जिल्ला निर्वाचन कार्यालय इलामका सूचना अधिकारी कृष्ण लिम्बूका अनुसार नयाँ मतदान केन्द्रहरू सूर्योदय नगरपालिका–१२ स्थित करफोक माध्यमिक विद्यालय, इलाम नगरपालिका–८ स्थित विद्या सिर्जनात्मक माध्यमिक विद्यालय, चुलाचुली गाउँपालिका–२ स्थित जनता माध्यमिक विद्यालय, देउमाई नगरपालिकाको डम्बरदेवी माध्यमिक विद्यालय तथा माईजोगमाई गाउँपालिका–५ स्थित सिरिसे माध्यमिक विद्यालयमा स्थापना गरिएको छ।

नयाँ मतदान केन्द्र थपिएसँगै मतदातालाई मतदानका लागि टाढा जानुपर्ने बाध्यता कम हुने र मतदान सहभागिता बढ्ने अपेक्षा गरिएको छ। निर्वाचन तयारीको क्रममा अस्थायी मतदाताको नामावली अद्यावधिक गर्ने कार्यसमेत जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ। यस अन्तर्गत कैदीबन्दी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा निर्वाचनमा खटिने कर्मचारीहरूको विवरण संकलन भइरहेको सूचना अधिकारी लिम्बूले जानकारी दिए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारीलाई तीव्रता दिइएको निर्वाचन कार्यालयको भनाइ छ। मतदाता नामावली अद्यावधिक, मतदान केन्द्र व्यवस्थापन, सुरक्षा संयन्त्रसँगको समन्वय, जनशक्ति व्यवस्थापन तथा मतदाता शिक्षाका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।

यसैबीच निर्वाचन नजिकिँदै जाँदा जिल्लाका राजनीतिक दलहरू समेत प्रचार–प्रसार र संगठन सुदृढीकरणमा सक्रिय देखिएका छन्। मतदाता संख्या वृद्धि र नयाँ मतदान केन्द्र थपिनुले इलाममा यसपटकको प्रतिनिधिसभा निर्वाचनलाई थप महत्वपूर्ण र चासोको विषयका रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार