इलाम । एशियन प्रोडक्टिभिटी अर्गनाइजेशन (एपिओ) र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेशनल प्रोडक्टिभिटी एण्ड इकोनोमिक डेभलपमेन्ट सेन्टर (एनपिइडीसी) को पहलमा इलाम जिल्लामा बहुराष्ट्रिय अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रम गरिएको छ ।
जनवरी ७ देखि ९ सम्म सञ्चालन हुने उक्त कार्यक्रम कृषि क्षेत्रमा उत्पादकता वृद्धि, लाभ–साझेदारी, मूल्य शृंखला विकास तथा दिगो कृषि अभ्यास सम्बन्धी अनुभव र ज्ञान आदान–प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
कार्यक्रममा एपिओका २१ सदस्य राष्ट्र मध्ये १५ सदस्य राष्ट्रका ३८ जना प्रतिनिधि सहभागी छन् । कार्यक्रममा जापान, फिलिपिन्स, इन्डोनेसिया, मलेसिया, भियतनाम, कम्बोडिया, थाइल्याण्ड, मंगोलिया, चीन, नेपाल, बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान र टर्की रहेका छन् ।
सहभागीहरूमा सरकारी अधिकारी, कृषि विज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता तथा कृषि उद्यमसँग आबद्ध प्रतिनिधिहरू छन् । अध्ययन भ्रमणका क्रममा टोलीले इलामका प्रसिद्ध चिया बगान तथा चिया प्रशोधन उद्योग, चिज उत्पादन तथा प्रशोधन केन्द्र, साथै अलैंची खेती गरिएका बगानको स्थलगत अवलोकन गरेको थियो ।
सहभागीहरूले चिया उत्पादनमा अपनाइएका आधुनिक प्रविधि, गुणस्तर नियन्त्रण प्रणाली, अन्तर्राष्ट्रिय बजार लक्षित रणनीति तथा सहकारी–उद्योग सहकार्यका मोडेलबारे जानकारी लिएका थिए । त्यस्तै, चिज उद्योगमा प्रयोग हुँदै आएका प्रशोधन प्रविधि, स्थानीय कच्चा पदार्थको उपयोग, मूल्य अभिवृद्धि र बजार व्यवस्थापनका अभ्यासबारे विस्तृत छलफल गरिएको थियो ।
अलैंची बगान अवलोकनका क्रममा उत्पादन वृद्धि, रोग नियन्त्रण, किसानको सहभागिता र आय बढाउने उपायबारे अनुभव आदान–प्रदान भएको थियो । कार्यक्रमको मुख्य लक्ष्य सदस्य राष्ट्रहरु बिच कृषि क्षेत्रमा लाभ साझेदारी प्रणाली थियो ।
उत्पादन, गुणस्तर सुधार वा लागत घटाएर प्राप्त हुने अतिरिक्त लाभ किसान, सहकारी, उद्योग र अन्य सरोकारवालाबीच कसरी न्यायोचित रूपमा बाँडफाँड गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको एनपिइडीसीका प्रबन्धक भिम भट्टराईले बताए । सहभागीहरूले आ–आफ्ना देशमा लागू भएका सफल अभ्यास प्रस्तुत गर्दै नेपालजस्ता कृषि प्रधान देशमा यसको प्रयोग सम्भावनाबारे सुझाव दिएका थिए ।
नेपालमा एपिओका कार्यक्रमहरू कार्यान्वयन गर्ने आधिकारिक निकाय एनपिइडसीले उक्त कार्यक्रमको सम्पूर्ण समन्वय गरेको हो । यस्ता अन्तर्राष्ट्रिय अध्ययन भ्रमणले नेपालमा कृषि, उद्योग र सेवा क्षेत्रमा उत्पादकता संस्कृतिको विकास, सीपयुक्त जनशक्ति निर्माण तथा नीति सुधारमा सहयोग पु¥याउँदै आएको भट्टराईले बताए ।
एपिओले एशिया–प्रशान्त क्षेत्रमा सदस्य राष्ट्रहरूको आर्थिक तथा सामाजिक विकासका लागि तालिम, अध्ययन भ्रमण, अनुसन्धान, नीति परामर्श र क्षमता विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । इलामजस्ता चिया, अलैंची र दुग्धजन्य उत्पादनमा सम्भावना बोकेका जिल्लामा बहुराष्ट्रिय टोलीको भ्रमणले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, किसान र उद्यमीलाई नयाँ बजार तथा प्रविधिसँग जोड्ने अवसर सिर्जना गरेको केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले बताए ।
उनले एपिओका सदस्य राष्ट्रका प्रतिनिधिहरुको भ्रमणले कृषि क्षेत्रमा लगानी आकर्षित गर्न र दिगो विकासका सम्भावनालाई उजागर गर्न मद्दत पु¥याउने अपेक्षा गरेको बताए । इलामको पूर्व प्रमुख जिल्ला अधिकारी समेत रहेकी मन्त्रालयकी औद्योगिक तथा लगानी प्रर्वद्धन महाशाखाकी सहसचिव कल्पना श्रेष्ठले कार्यक्रमको समन्वय गरेकी थिइन् ।
कार्यक्रममा सहभागीहरुलाई सूर्योदय नगरपालिका–१२ मा रहेको बरपिपल होमस्टेमा आतिथ्य सत्कार गरिएको थियो । आतिथ्यता प्रदान गर्दै होमस्टे संचालक एवम बरिष्ठ पत्रकार केदार शर्माले कृषि क्षेत्रमा बहुराष्ट्रिय अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रमहरुले एग्रो टुरिजमलाई समेत सहयोग पुग्ने बताए ।
उनले यस्ता भ्रमणले स्थानीय किसानका उत्पादन र उत्पादकत्व वृद्धिका लागि नयाँ अभ्यासहरु गर्न सक्ने सम्भाव्यता देखाएको बताए । इलाम कृषिमा समेत अघि रहेकाले स्थानीय उत्पादन स्कुसबाट मात्र १८ प्रकारका परिकार बनाएर पनि एग्रो टुरिजम विकास गर्न सकिने बताए ।
शर्मा दम्पतीले सहभागी देशका प्रतिनिधिहरुलाई स्थानीय उत्पादनबाट बनेको बाचिपाको शाकाहारी रुप च्याचिपा, मोस्क मिट, स्कुसको सुप र अदुवाबाट बनाइएको जुसको स्वाद समेत चखाए ।