Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयको मेचीबजारबाट निशान पदमार्ग शुभारम्भ

सूर्योदयको मेचीबजारबाट निशान पदमार्ग शुभारम्भ

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस २३ २०८२


सूर्योदयको मेचीबजारबाट निशान पदमार्ग शुभारम्भ

फिक्कल । इलामको सूर्योदय नगरपालिका–४ मेचीबजारबाट निशान पदमार्गको शुभारम्भ गरिएको छ । सुगौली सन्धीपछि नेपालले नागरिगढी छाडेर इलाममा सदरमुकाम स्थापनाका लागि हिडेको बाटोलाई पदमार्गको रुपमा विकास गर्दै पदयात्रा सुरु भएको हो । नेपाल–भारत सिमा नजिकै पर्ने मेचीबजारमा औपचारिक उद्धघाटन गरेर ४ दिनको पदयात्रा सुरु गरिएको हो ।

मेचीबजारमा निशान पदमार्गको शिलालेखलाई इलाम नगर प्रमुख केदार थापाले अनावरण गरे । ४१.१ किलोमिटर पदयात्रा आगामि पौष २६ गते इलाम सदरमुकाम स्थित माईस्थानमा पुगेर समापन हुनेछ । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान जुन बाटो भएर फर्काइएको थियो, त्यही बाटो संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न पदयात्रा गरिएको हो ।

इलाम नगरपालिका, सूर्याेदय नगरपालिका, माइजोगमाई गाउँपालिका, पर्यटन कार्यालय काँकडभिट्टा र नेपाली सेनाको इलामस्थित रणशार्दूल गणले पदयात्राको आयोजना र व्यवस्थापन गरेका हुन् । सूर्योेदय नगरपालिका–४ का वडाध्यक्ष शरण राईको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बराल, इलाम नगर उपप्रमुख बिष्णुमाया लिम्बु दाहाल, माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, उपाध्यक्ष प्रविना राई, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला प्रहरी कार्याल इलामका प्रमुख एकनारायण कोइराला, शसस्त्र प्रहरी प्रमुख लोकेन्द्र सुवेदी, इतिहासविद्ध युद्धप्रसाद बैद्य लगायतको आतिथ्यता रहेको थियो ।

उद्धघाटन कार्यक्रममा इतिहासविद्ध बैद्यले नागरिगढी देखि इलाम सदरमुकामा निशान स्थापनाताकाको इतिहास प्रस्तुत गरेका थिए । श्रीनाथ पल्टनले त्यसबेला प्रयोग गरेकै कालो पोसाकका नेपाली सैनिक सांकेतिक रूपमा निसान, खुँडा, ढाल, तरबारलगायत बोकेर पदयात्रा गरिएको छ । नौमती बाजा सहित पदयात्रा गरिएको छ ।

पदयात्रीलाई स्वागत गर्न स्थानीयले ठाउँ–ठाउँमा घडा, कलशलगायत राखेका थिए । पहिलो दिन मेचीबजारबाट गहिरीगाउँसम्मको पदयात्रा गरिएको छ । सूर्याेदय नगरपालिका ९, बरबोटेमा पर्यटनसम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । पर्यटन कार्यालय काँकडभिट्टाको आयोजनामा भएको प्यानल डिस्कसनमा सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बराल, माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीका आर्थिक सल्लाहकार डा मोहन सुवेदीले वक्ताको रुपमा सहभागिता जनाएका थिए ।

प्यानल डिस्कसनलाई पर्यटन कार्यालयका अधिकृत निरज कट्टेलले संचालन गरे । दोश्रो दिन करफोकको पूर्णेडाँडासम्मको यात्रा गरिनेछ । त्यहाँ कार्यक्रम सम्पन्न भएपछि २५ गते नामसालिङको हात्तीटारसम्म पदयात्रा गरिनेछ । २६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माइबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम बजारस्थित माइस्थानमा आउनेछ । इलाम बजार परिक्रमा गरी औपचारिक समापन गरिने छ ।

नेपाली फौजको तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर नागरीगढी (अहिले भारत)मा गाडेका निसान सुगौली सन्धीपछि फर्काएर अहिलेको इलाम सदरमुकाम ल्याइएको थियो । त्यहाँबाट करफोकको पूर्णेडाँडा–नामसालिङको हात्तीटार हुँदै अहिलेको सदरमुकामम्म ल्याइएको इतिहास छ । नेपाल एकीकरण गर्दैजाँदा पूर्वमा टिस्टा नदीसम्म पुगेको नेपालको सीमा सुगौली सन्धिपछि अहिलेको विन्दु (मेची नदी) कायम भएको इतिहास छ ।

नेपाल एकीकरण गर्दैजाँदा नेपाली सेनाको तत्कालीन श्रीनाथ पल्टनले पुरानो सीमाविन्दु नागरीगढीमा गाढेको निसान सुगौली सन्धिपछि १८७५ सालमा इलाम ल्याइएको थियो । नागरीगढीबाट इलाम बजार ल्याइएको निसान र तोप इलामको माइस्थान मन्दिरमा नेपाली सेनाको निगरानीमा राखिएको थियो । सशस्त्र द्वन्द्वका बेला असुरक्षाको कारण देखाउँदै नेपाली सेनाले यहाँको निसान र तोप काठमाडौं स्थानान्तरण गरेको थियो । तर, इलामबासी, पर्यटनकर्मी र इतिहासकारलगायतको निरन्तर दबाबपछि २०७४ सालमा निसान र २०७९ सालमा तोप माइस्थान मन्दिरमै ल्याएर पुनस्र्थापित छ ।

ऐतिहासिक निसान ल्याएको र जिल्ला सदरमुकाम स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा २०७५ सालमा इलाम नगरले महोत्सवसमेत आयोजना गरेको थियो । नेपाल–अंग्रेज युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम गरेको थियो । मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ पल्टन अहिले इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बस्यो ।

मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भएको इतिहासविद्ध बैद्यले बताए । सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम सारेर करफोक ल्याएका हुन् । पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अंग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा यो पल्टन इलामको माइस्थान ल्याइएको थियो । निसान रहेको माइस्थान मन्दिर १८८० सालमा स्थापना भएको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार