इलाम : इलाम नगरपालिकाले नागरिक र स्थानीय सरकारबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले मङ्गलबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक अवधिको विकास निर्माण, सेवा प्रवाह र सुशासन प्रवर्द्धनका विषयमा नागरिकको जिज्ञासा र सुझावलाई सम्बोधन गर्न इलाम नगरपालिकाका-१० गोदकस्थित पूर्णस्मारक माध्यमिक विद्यालयको प्राङ्गणमा सार्वजनिक सुनुवाइ गरिएको हो ।
स्थानीय सरकार र नागरिकबीच दोहोरो संवाद स्थापना गर्दै पारदर्शिता र जबाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको नगरपालिका जनाएको छ । कार्यक्रममा इलाम नगरपालिका १० नं। वडा अध्यक्ष ओमनाथ प्रधान (दिलिप) ले वडाबाट र प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले नगरपालिकाबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै तेस्रो पक्ष बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको तर्फबाट सहजकर्ता राम योङहाङले नागरिक प्रतिवेदन र बहिर्गमन प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा राम्रा कुरा र सुधार गर्नुपर्ने विषयहरु औंल्याएका छन् । कार्यक्रममा सेवाग्राहीले विकास निर्माण, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा आफ्ना गुनासा, जिज्ञासा र सुझाव प्रत्यक्ष रूपमा राखेका छन् ।
कार्यक्रममा असिम जोशी, जगतबहादुर नेम्बाङ, माधवप्रसाद भट्टराई, विष्णु गौतम, गंगामाया खड्का महत, प्रेमप्रसाद घिमिरे, हरिकला श्रेष्ठ र राजन दुलालले विपद व्यवस्थापन, शिक्षा, कृषि, पशुलगायतका विषयमा प्रश्न, गुनासो र सुझाव राखेका थिए ।
कार्यक्रममा उठेको प्रश्नहरुको जवाफ इलाम नगरप्रमुख केदार थापा, उपप्रमुख विष्णुकुमारी लिम्बू दाहाल, प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्का, १० नं। वडा अध्यक्ष ओमनाथ प्रधान (दिलिप)०, शिक्षा शाखा प्रमुख राधिका घिमिरे, पशुपंक्षी विकास शाखाका प्रकाश लुइटेललगायत दिए ।
नागरिकबाट आएका रचनात्मक सुझावलाई भविष्यमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् । नगरपालिकाले स्थानीय बासिन्दा, नागरिक समाज, राजनीतिक दल, सेवाग्राही, महिला, दलित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, युवा, पत्रकार तथा सरोकारवाला सबैलाई सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित भई आफ्ना धारणा राख्न आग्रह गरेको थियो ।
सार्वजनिक सुनुवाइले नगरपालिकाको सेवा प्रवाहलाई थप पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउन सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ । सार्वजनिक सुनुवाइले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउने, सेवा प्रवाहप्रति विश्वास बढाउने र जनप्रतिनिधि तथा कर्मचारीलाई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको छ ।