इलाम । आगामि पुष २९ गतेबाट सातौं सुनाखरी गोल्ड कप–२०८२ आयोजना हुने भएको छ । कक्फेक्वा तङ्नाम–५०८५ तथा सोनाम ल्होसारको पावन अवसर पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापको आयोजनामा स्वर्गीय प्रसाद सिङ्दन तामाङ र स्वर्गीय बिमाया सिङ्दन तामाङको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
माघ ५ गतेसम्म अमर नेम्वाङ स्मृति खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेता हुने टोलीलाई नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। साथै प्रतियोगिताका प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरी ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष सन्दिप विक्रम नेम्वाङले जानकारी दिए । त्यस्तै भेट्रान्सको खेल समेत संचालन हुनेछ । ४ टिम मात्र सहभागि हुने भेट्रान्स विजेताले नगद २० हजार र उपविजेताले १० हजार प्राप्त गर्नेछ ।
खुल्ला तर्फको पुरस्कार सुख बहादुर सिङदन तामाङ र तुल बहादुर सिङदन तामाङले प्रायोजन गरेका छन् । भेट्रान्स तर्फको प्रथम पुरस्कार आनन्द विक्रम नेम्वाङले प्रायोजन गरेका छन् । आयोजक सुनाखरी युथ क्लबले प्रतियोगितामा सहभागी हुन इच्छुक क्लबलाई पुष २५ गतेसम्म इन्ट्री गर्ने समय तोकेको छ ।
प्रतियोगिता लोकल सन्देश डटकमको अफिसियल फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिनेछ ।