Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इलाम–१ मा एमालेबाट महेश, काजीमान र दुर्गादेवी सिफारिस

इलाम–१ मा एमालेबाट महेश, काजीमान र दुर्गादेवी सिफारिस

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस १८ २०८२


इलाम–१ मा एमालेबाट महेश, काजीमान र दुर्गादेवी सिफारिस

इलाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले इलाम क्षेत्र नं- १ बाट तीन जना नेताको नाम सिफारिस गरेको छ। पार्टीको जिल्ला कमिटी बैठकले पूर्व सांसद महेश बस्नेत, काजीमान कागते र दुर्गादेवी भट्टराईलाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो।

सिफारिस सूचीमा पहिलो नाम महेश बस्नेतको रहेको छ। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई २ हजार ६५६ मतान्तरले पराजित गर्दै इलाम–१ बाट सांसद निर्वाचित भएका थिए। त्यसअघि २०७४ सालमा उनी इलाम नगरपालिकाका प्रमुखका रूपमा निर्वाचित भएका थिए।

यस्तै, काजीमान कागतेलाई पनि उम्मेदवारका रूपमा अघि सारिएको छ। कागते २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट सूर्योदय नगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी गठबन्धनका उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका रणबहादुर राईसँग १ हजार ८५२ मतान्तरले पराजित भएका थिए। यसअघि २०७४ सालमा उनी इलाम क्षेत्र नं १ (ख)  बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

तेस्रो उम्मेदवारका रूपमा दुर्गादेवी भट्टराईको नाम सिफारिस गरिएको छ। भट्टराई २०७९ सालको स्थानीय तह निर्वाचनमा सूर्योदय नगरपालिकाको उपप्रमुख पदका लागि उम्मेदवार बनेकी थिइन्। उनी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दुर्गाकुमार बरालसँग २ हजार ७३२ मतान्तरले पराजित भएकी थिइन्। यसअघि उनी २०७४ सालमा सूर्योदय नगरपालिकाकी उपप्रमुख निर्वाचित भएकी थिइन्।

नेकपा एमाले इलामका उपाध्यक्ष उदयबहादुर राईका अनुसार पार्टीको आन्तरिक छलफल र मूल्यांकनका आधारमा यी तीन जनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको हो। अब अन्तिम निर्णय पार्टीको केन्द्रिय नेतृत्वले गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार