कन्याम । अंग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसर पारेर पूर्वको चर्चित पर्यटकीय गन्तव्य कन्याममा ‘सूर्योदय फुड एण्ड कल्चरल फेस्टिवल’ आयोजना भएको छ । कन्याम पर्यटन व्यवसायी संघको मुख्य आयोजनामा पुस १५ देखि १९ गतेसम्म ५ दिन चल्ने फेस्टिवलमा स्थानीय रैथाने परिकार र सांस्कृतिक कार्यक्रमलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिनेछ ।
आज औपचारिक समारोहका बिच कार्यक्रमको उद्धघाटन गरिएको छ । नगर प्रमुख रण बहादुर राईले फेस्टिबलको उद्धघाटन गरे । कार्यक्रममा लाप्चा, नेवारी, तामाङ लगायतका जातजातिले नृत्य र झाँकी प्रस्तुत गरे ।
कार्यक्रममा नगर प्रमुख राई, सूर्योदय नगरपालिका–७ का वडाध्यक्ष एलबी चाम्लिङ,आदिवासी जनजाति महासंघका अध्यक्ष सोनाम योल्मो, अन्तुडाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आले लगायतले शुभकामना मन्तव्य राखे । कार्यक्रममा वडा नं ६ का वडासदस्य जगत तामाङले शुभकामना मन्तव्य राखे ।
कार्यक्रमको अध्यक्षता कन्याम पर्यटन व्यवसायी संघका अध्यक्ष डिबी तामाङले गरेका थिए । पर्यटन प्रर्वद्धन उद्देश्यले आयोजना हुन लागेको फेस्टिवलमा २५ वटा स्थानीय खाद्य परिकारका स्टल, संस्कृति झल्कने प्रदर्शनी तथा कोरियन कल्चरसम्बन्धी स्टल रहेको छ । फेस्टिवलमा चिजका परिकारलाई विशेष आकर्षणका रूपमा राखिएको छ ।
स्थानीय रूपमा उत्पादन भएका दूधजन्य परिकार, तरुलका परिकार, कोदो र फापरबाट बनेका परिकार, वाचिपा, फूल नसरीलगायतका सामग्री फेस्टिवलका प्रमुख आकर्षण रहने रहेको छ । फेस्टिवलमा सूर्योदय नगरपालिका र हिमालयन चिज उत्पादक संघ को सहकाय रहेको छ ।
फेस्टिबल सम्पन्न गर्न करिब चार लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । फेस्टिवलमा स्वदेशी पर्यटकसँगै छिमेकी देश भारत र कोरियाबाट आउने पर्यटकको सहभागिता रहने अपेक्षा गरिएको छ । अंग्रेजी नयाँ वर्षको समयमा कन्याममा हरेक वर्ष स्वदेशी तथा भारतीय पर्यटकको उल्लेख्य भीड लाग्ने गरेको छ ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईका अनुसार फेस्टिवलले स्थानीय पर्यटन प्रवर्धनमा थप टेवा पुग्नेछ । छिमेकी देश भारतमा अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा ठूलो संख्यामा भारतीय पर्यटक कन्याम आउने भएकाले त्यस अवसरलाई लक्षित गरी फेस्टिवल आयोजना गरिएको उनको भनाइ छ ।