Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

पहिलोपटक राहसल बाल अनाथालयका युवाहरूले पाए नेपाली नागरिकता

पहिलोपटक राहसल बाल अनाथालयका युवाहरूले पाए नेपाली नागरिकता

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस १४ २०८२


पहिलोपटक राहसल बाल अनाथालयका युवाहरूले पाए नेपाली नागरिकता

इलाम । लामो समयदेखि प्रतिक्षमा रहेका इलामको इलाम नगरपालिका–९ गोलाखर्कस्थित राहसल बाल अनाथालयका चार जना युवाहरूले अन्ततः नेपाली नागरिकता प्राप्त गरेका छन् । विसं २०६६ सालमा स्थापना भएको यस अनाथालयको इतिहासमा बालबालिकाले नागरिकता पाएको यो पहिलो अवसर हो ।

आइतबार एक विशेष अवसरका बीच जिल्ला प्रशासन कार्यालय इलामकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालले ती युवाहरूलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । प्रजिअ नेपालको सरुवा भएर जानेक्रममा जिल्ला प्रशासन कार्यालय परिसरमा सामुहिक रुपमा उनिहरुलाई नागरिकता प्रदान गरेर गएकी हुन् ।

नागरिकता हातमा परेपछि वर्षौँदेखि ओझेलमा परेका युवाहरूको आँखाबाट खुसीको आँसु थामिएन । नागरिक्ता पाउने उमेर पुगेपनि नागरिकता परिचयपत्रको अभावमा उच्च शिक्षा र रोजगारीका अवसरबाट वञ्चित भएका ती चार युवाका लागि यो क्षण पुनर्जन्म सरह बन्यो ।

नागरिकता वितरण गर्दै प्रजिअ नेपालले भनिन् “नागरिक बन्ने हक संविधान र ऐनमै सुनिश्चित छ । राज्यको मूल प्रवाहबाट कोही पनि वञ्चित हुनु हुँदैन । आज यी युवाहरूले नागरिकता पाएसँगै उनीहरूको भविष्यको ढोका खुलेको छ । अब उनीहरूले ढुक्क भएर आफ्नो वृत्तिविकासमा लाग्न पाउनेछन् ।”

यता अनाथालयकी अध्यक्ष माया भट्टराईका लागि यो दिन कुनै उत्सवभन्दा कम थिएन । बालबालिकालाई सन्तान झैँ हुर्काउदै गर्नुभएकी भट्टराईले नागरिकता दिलाउनका लागि लामो कानुनी र प्रशासनिक सङ्घर्ष गरेकी थिइन् ।

“हामी सबै अत्यन्तै खुसी छौँ, अध्यक्ष भट्टराईले भक्कानिँदै भनिन, “यी बालबालिकाले नागरिकता नपाउँदा उनीहरूको बैंक खाता खोल्न, उच्च शिक्षा पढ्न र सिमकार्ड लिन समेत समस्या थियो । आज वर्षौँदेखिको प्रतीक्षा सकिएको छ ।

नागरिकता पाएका युवाहरूले आफूहरूले बल्ल ’नेपाली’ भएको वास्तविक महसुस गरेको बताएका छन् । शिक्षा र रोजगारी अब यी युवाहरूले सरकारी जागिर, विदेश भ्रमण वा निजी क्षेत्रमा निर्धक्क भएर काम गर्न सक्नेछन् ।

राहसल बाल अनाथालयले विगत १५ वर्षदेखि असहाय र अनाथ बालबालिकालाई आश्रय दिँदै आएको छ । हाल यहाँ धेरै बालबालिकाहरू आश्रित छन्, जसले भविष्यमा क्रमशः उमेर पुगेपछि कानुनी प्रक्रिया पूरा गरी नागरिकता पाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार