इलाम । चर्चित पर्यटकीयस्थल झण्डिडाँडा जाने धजे–मनकामना फास्ट ट्रयाक सडक सञ्चालनमा आएको छ । बहुप्रतिक्षित सडकमा यातायात सुरु भएपछि पर्यटक तथा स्थानीयवासीलाई आवतजावतमा सहजता भएको छ । यसले घाँस–दाउरा बोकेर हिँड्नेदेखि दैनिक यात्रासम्म सुरक्षित बनाएको स्थानीयले बताएका छन् ।
सडक सञ्चालनसँगै रोङ गाउँपालिका–६ रम्भ्याङ क्षेत्रका काक्रा, साग, इस्कुसलगायत कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन तथा उपभोग्य सामग्री आयात गर्न सजिलो भएको छ । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि पूर्वको प्रमुख सहर बिर्तामोड पुग्न अब छिटो र सहज भएको स्थानीयको भनाइ छ ।
यो सडकले रम्भ्याङ, जौबारी, जिर्मले र कुवापानी क्षेत्रको आवागमन सहज बनाउँदै धुलाबारी, बिर्तामोड, चन्द्रगढी हुँदै काकरभिट्टासम्म पुग्ने नयाँ सञ्जाल निर्माण गरेको छ । धजेबाट वडा कार्यालय पाँच मिनेटमै पुगिने र सडकलाई प्रभावकारी रूपमा विकास गर्न सके बहुआयामिक लाभ लिन सकिने स्थानीयको अपेक्षा छ ।
निर्माण समितिका अध्यक्ष निमा कुमार राईका अनुसार धजे–मनकामना हुँदै निन्दा, सेङलेङ्टार, शान्तिनगरलगायत क्षेत्रतर्फ जान सकिने भएकाले सडक बहुआयामिक बनेको छ । सडक निर्माणका लागि संघीय तथा प्रदेश सरकारबाट विभिन्न आर्थिक वर्षमा करिब ५ करोडभन्दा बढी लगानी भएको जानकारी स्थानीय युवा नेता रन्जित राईले दिएका छन् ।
स्थानीय अगुवाहरूले यो सडकलाई जनजीविका उकास्ने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र सामाजिक मेलमिलाप बलियो बनाउने जीवनरेखा भएको बताएका छन् । रोङ–६ लाई झापासँग सहज रूपमा जोड्ने यो सडकको औपचारिक उद्घाटन पुस १२ गते हुने वडाध्यक्ष सत्यम राई चौँरासेले जानकारी दिएका छन् ।
यस सडक निर्माणका लागि संघीय सरकारबाट आर्थिक वर्ष २०८१र८२ मा तीन करोड ५० लाख‚ आव २०८०/८१ मा एक करोड र आव २०७९/८० मा ५० लाख रकम विनियोजन भएको थियो । यस्तै‚ प्रदेश सरकारबाट आव २०७८/७९ मा २५ लाख रकम छुट्याइएको थियो ।