फिक्कल । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा इलाम क्षेत्र नं. १ मा नेतृत्व चयनलाई सर्वसम्मत बनाउने उद्देश्यसहित पूर्व सभापति फोरमले पहिलो चरणको छलफल आयोजना गरेको छ। सूर्योदय नगरपालिका–१० फिक्कलमा सम्पन्न उक्त बैठकले गुटगत राजनीति अन्त्य गर्दै साझा सहमतिका आधारमा नेतृत्व चयन गर्ने दिशामा महत्वपूर्ण संकेत दिएको छ ।
फोरमको योजनाअनुसार आयोजित बैठकमा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला तथा क्षेत्रीय समिति सदस्यहरू, साथै विभिन्न पदका आकांक्षीहरूको उल्लेख्य सहभागिता रहेको थियो। आकांक्षीहरूको संख्या धेरै भएकाले सहमति जुटाउन चुनौती देखिए पनि, अन्तिम प्रयासस्वरूप साझा समझदारी कायम गर्ने लक्ष्यसहित छलफल अघि बढाइएको फोरमले जनाएको छ।
पूर्व क्षेत्रीय सभापति दुर्गाकुमार बरालले बैठकमा बोल्दै क्षेत्र नं. १ लाई एकताबद्ध बनाएर अघि बढ्ने उद्देश्य पहिलो प्राथमिकता भएको बताए। “यो पहिलो चरणको प्रयास हो। चरणबद्ध रूपमा छलफल बस्छौँ। अधिवेशन हुने–नहुने हेर्छौँ, नभए पनि दुई–चार चरण छलफल गरेर सहमतिको बाटो खोज्छौँ,” उनले भने।
उनले लोकतान्त्रिक प्रणालीमा आकांक्षा स्वाभाविक भएको उल्लेख गर्दै अन्ततः निर्वाचन भए पनि सबैले एक–अर्कालाई स्वीकार गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए। “जो सभापति भए पनि सबैलाई मिलाएर लैजानुपर्छ। वडाध्यक्षको टिकट वितरणदेखि नै हाम्रो मान्छेभन्दा राम्रो मान्छे खोज्ने सोचका साथ अघि बढ्नुपर्छ,” बरालको भनाइ थियो।
पूर्व सभापति भिष्म प्रधानले युवा पुस्तालाई नेपाली कांग्रेसले प्राथमिकतामा राखेर अघि बढ्न सुझाव राखे । उनले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले उम्मेदवार बन्न कसैलाई पनि रोकावट नहुने उल्लेख गरे ।
गुटगत राजनीति भन्दा माथि उठेर नेपाली कांग्रेसलाई जनताको पार्टी बनाउनुपर्ने उनले बताए । संविधानसभा सदस्य टिकाराम सुब्बा लेप्चाले युवाहरु एकमत भएर आएर त्याग गर्न समेत पछि नपर्ने उल्लेख गरे । उनले निर्वाचन नजिकिदै गरेकाले कांग्रेस भित्र एकता रहेको सन्देश जनता सामु ल्याउन सबैको सहकार्य हुनुपर्ने बताए ।

बैठकमा पुस्तान्तरणलाई पनि प्राथमिकता दिँदै जेन–जी, जेन–वाई र जेन–एक्स सबैलाई समेटेर वडा हुँदै क्षेत्रसम्म समावेशी नेतृत्व निर्माण गर्ने अवधारणामा छलफल गरिएको थियो।
छलफलमा आगामि फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा जनताले रुचाएको र युवा पुस्ताको उम्मेदवारलाई प्राथमिकतामा राख्ने बिषय समेत उठेको थियो ।
उक्त छलफलमा आकांक्षीमध्ये यमन लामा र जीवन नेपाल अनुपस्थित रहे भने मणि गुरुङ, उद्धव पौडेल, हरिकला गौतम श्रेष्ठ, सुवास स्याङ्बो, राजकुमार सेरङ, सोनामकाजी लेप्चा र कुसुम पौडेल सहभागी थिए।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै इलाम क्षेत्र नं. १ मा गुटगत राजनीति अन्त्य गरी साझा र स्वीकार्य नेतृत्व चयन गर्ने दिशामा पूर्व सभापति फोरमको यो पहललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। क्षेत्रीय महाधिवेशनलाई केन्द्रीय महाधिवेशनको प्रतिविम्बका रूपमा लिइन्छ।

यहीँबाट निर्वाचित प्रतिनिधिहरूले केन्द्रीय नेतृत्व चयनको दिशानिर्देश गर्ने भएकाले इलाम क्षेत्र नं। १ मा हुने सहमति वा प्रतिस्पर्धाले राष्ट्रिय राजनीतिमा समेत सन्देश दिनेछ। तर निर्धारित समयमा महाधिवेशन नहुने देखिएकाे छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तोकिएको समयमा महाधिवेशन गर्ने आधार नरहेको निष्कर्ष निकालेको छ । सबैभन्दा ठूलो चुनौती सक्रिय सदस्यता टुंग्याउनु रहेको र जिल्ला जिल्लामा गरिएको परिपत्र क्रमसंख्या नभएको सक्रिय सदस्यता फारम गएकाले फेरि पठाउनुपर्ने अवस्था देखिएको समितिको बैठकमा निष्कर्ष निकालिएको छ ।
विधिसम्मत तरिकाले काम गर्नुपर्ने भएकाले क्रियाशील सदस्यता टुंगिने कुरा जिल्लाका कार्यकर्ताले सकेको प्रयास गर्दा पनि सफल हुन सकेन् । त्यसले पनि तोकिएको समयमा अधिवेशन गर्न सबैको तदारुकता र क्रियाशिलता हुँदाहुँदै पनि सम्भव देखिएन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तय गरिएको कार्यतालिका अनुसार पुस १६ गते गाउँ तथा नगर वडा अधिवेशन सम्पन्न हुनुपर्ने थियाे । त्यसको भोलिपल्ट पुस १७ गते गाउँ तथा नगरपालिकास्तरीय अधिवेशन र पुस १९ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने कार्यतालिका रहेको थियाे ।
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनसहित जिल्ला अधिवेशन पुस २१ गते सम्पन्न हुने कार्यतालिका यसअघि प्रकाशन भएको थियो ।