इलाम । समुन्नत नेपाल पार्टीका अध्यक्ष सवेन्द्र खनालले मुलुकमा विद्यमान राजनीतिक नेतृत्वमाथि कडा प्रहार गर्दै भ्रष्ट शासनको अन्त्यका लागि जेन–जी पुस्ता निर्णायक शक्तिका रूपमा अघि बढेको दाबी गरेका छन् । राष्ट्रिय परिवर्तन पार्टीको इलाममा आयोजित घोषणा सभामा बोल्दै खनालले पुराना नेता र पार्टीहरुलाई परास्त गर्न जेनजी युवाहरु तयार भएको बताए ।
३० वर्षसम्म नेपाल प्रहरी सेवामा काम गरेको अनुभव सुनाउँदै खनालले तोडफोड, निहत्था नागरिकमाथिको आक्रमण आफूलाई कहिल्यै स्वीकार्य नभएको बताए । “म पद पाउन राजनीतिमा आएको होइन, सबै कुरा पु¥याउन नसकिए पनि नेपाल प्रहरीलाई माया गर्ने मान्छे हुँ,” उनले भने, “आज पनि ‘सवेन्द्र हुँदा काम भयो’ भन्नेहरू भेटिन्छन् ।”
उनले अहिलेको युवा पुस्ता डिजिटल युगमा हुर्किएको र २१औँ शताब्दीको जीवनशैली र विश्वको गतिलाई राम्ररी बुझेको उल्लेख गरे । “भ्रष्ट सरकारले यस्तो अवस्था सिर्जना ग¥यो कि नेतृत्वमा बसेकाहरू हेलिकप्टर चढेर भाग्नुपर्ने भयो,” उनले भने, “त्यो अवस्था ल्याउने जेन–जी दाजुभाइ तथा दिदीबहिनीहरू नै हुन् । ”
प्रधानमन्त्री र शीर्ष नेताहरूले सार्वजनिक जग्गा हडप्ने, सरकारी सम्पत्ति दुरुपयोग गर्ने र चुनावका लागि पैसा जम्मा गर्ने गरेको आरोप लगाउँदै खनालले भने, “जनतालाई भेडाबाख्राजस्तै किनबेच गरेर चुनाव जितिन्छ भन्ने सोच राख्नेहरूले निहत्था जनतामाथि शासन गरिरहेका छन्, यो शासन अन्त्य गर्न म तपाईंहरूसँगै छु ।”
उनले निर्वाचन दर्ताको अन्तिम दिनसम्म जेन–जी शक्तिहरूलाई एक ठाउँमा ल्याएर अघि बढ्ने प्रयास गरेको स्मरण गराउँदै सबैलाई प्रधानमन्त्री र मन्त्री बन्ने हतार र माग पूरा गर्नेभन्दा आफ्नै पार्टी कसरी बढाउने भन्ने चिन्ता रहेको उल्लेख गरे ।
राष्ट्रिय परिवर्तन पार्टी घाइते तथा उपचाररत युवाहरूको पीडालाई बोकेको पार्टी भएको खनालको भनाइ थियो । उनले राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलजस्ता घाइते युवाको उदाहरण दिँदै भने, “आमा–बुबा गुजारा चलाउन विदेश जान बाध्य छन्, राजेशको आमा पनि छोरोको खुट्टा हाल्न विदेश जानुपरेको छ, सरकार कहाँ छ ? कसको शासनका लागि बसेका छौ ?”
देशमा ७० लाखभन्दा बढी पीडित र ७० लाखभन्दा बढी युवा विदेशिएको उल्लेख गर्दै उनले बाँकी रहेका नेपालीहरू नै वर्तमान सत्ता उल्ट्याउने योद्धा भएको बताए । इलामसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै खनालले २०३९ सालमै इलाम आएको स्मरण गरे ।
“इलाम अन्तर्राष्ट्रिय रूपमा चिनिएको ठाउँ हो,” उनले भने, “तर विकास निर्माण हेर्दा बाटोको हालत उस्तै छ, दुई घण्टाको बाटो छ घण्टा लाग्छ, के विकास गर्नुभयो ?” इलामको चियाको बजार नबनाइदिँदा नेपाली किसान गरिब र भारतीय व्यापारी धनी भइरहेको आरोप लगाउँदै उनले सरकारसँग दूरदृष्टि र सुझबुझको अभाव रहेको बताए ।
“यहाँको चिया बेचेर नेपाली धनी हुनुपर्ने हो, तर फाइदा अरूले लिइरहेका छन्,” उनले भने । गरिबले राहत र अनुदान नपाउने, केही धनीहरूले सरकारलाई आफ्नो नियन्त्रणमा राखेको दाबी गर्दै खनालले अब राष्ट्रिय परिवर्तन पार्टी र समुन्नत नेपाल पार्टी एक भएर स्थायी रूपमा यस्तो शासन अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।“आन्दोलनमा त भगाएका थियौँ । अब सधैँका लागि भगाउन हामी एक भएर अघि बढ्छौँ ।”