इलाम । नेपाली महिला राष्ट्रिय टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बा आवद्ध सेथु एफसी इन्डियन वुमन्स लिगमा पराजित बनेको छ । लिग अन्र्तगत दोश्रो चरणको खेलमा सेथु एफसी इस्ट बंगाल एफसीसंग १–० ले पराजित बनेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औ मिनेटमा सुमिया गुलोथले गोल गर्दै महत्वपूर्ण ३ अंक दिलाइन् । सुस्मिता लेप्चाले डिबक्स बाहिर मिलाइदिएको क्रस पासमा गुलोथले गरेको प्रहार एन्जिलाले बचाउन सकिनन् ।
जितसंगै इस्ट बंगालले १ खेलबाट ३ अंक बटुल्दै लिगको चौथो स्थानमा रहेको छ । इस्ट बंगाल डिफेन्डिङ च्याम्पियन टिम रहेको छ । २०२४–२५ को सिजन च्याम्पियन रहँदै इस्ट बंगालले साफ वुमन्स क्लब च्याम्पियनसिपमा स्थान बनाएको थियो ।
४ दिन अघि काठमाण्डौमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाल लिग च्याम्पियन एपिएफ क्लबलाई ३–० ले हराउँदै उपाधि समेत जितेको थियो । २ खेलमा १ जित र १ पराजय भोगेको सेथु ३ अंकको साथ पाँचौ स्थानमा छ ।
एन्जिलाले कप्तानीमा उत्रिदै सेथुले पहिलो खेलमा किकस्टारलाई २–१ ले हराएको थियो । तेश्रो खेलमा सेथुले गोकुलम केरलाको सामना गर्नेछ । इन्डियन वुमन्स लिगमा यस पटक नेपालबाट एन्जिला मात्र सहभागी छन् ।