Local Sandesh बुधबार, कार्तिक १९ २०८३
  • ट्रेण्डिङ :

विपद्पछि इलाममा खेलकुदका गतिविधि बढ्दै

विपद्पछि इलाममा खेलकुदका गतिविधि बढ्दै

  • सन्देश सम्बाददाता
  • मंगलबार, पौस ८ २०८२


विपद्पछि इलाममा खेलकुदका गतिविधि बढ्दै
इलाम ।  विपद् संकटग्रस्त जिल्ला घोषणा भएको इलाममा ठप्प भएको खेलकुदका गतिविधि धमाधम हुन थालेका छन् । अशोज १८ को वर्षातपछि आएको बाढी र पहिरोबाट ठुलो धनजनको क्षति हुँदा ठप्प भएका खेलकुदका कार्यक्रमहरु अघि बढ्न थालेका हुन् ।   इलाम खेलकुदमा अग्रणी जिल्ला हो । सामान्य अवस्थामा इलाममा टोल, पालिका र जिल्ला स्तरीय प्रतियोगिता वर्षमा सय बढी हुन्छन् । आर्थिक वर्षको शुरुवात महिना साउन र भाद्रमा दुई÷चार वटा प्रतियोगिता हुँदै आएपनि अशोज महिनाबाट खेलकुद प्रतियोगिता प्रत्येक पालिकामा हुन्छ ।
तर यस वर्ष खेलकुदका प्रतियोगिता हुन पाएनन् । कारण थियो भाद्र महिनमा भएको जेन्जि आन्दोलन र अशोज १८ को बाढी पहिरोको वित्तण्डा । जेन्जि आन्दोलपछि सामान्य हुँदै आएको इलाम लगत्तै बाढी पहिरोबाट पिडित भएपछि खेलकुद प्रतियोगिताहरु कात्तिक महिनासम्म ठप्प भए । धनजनको ठुलो क्षति भएपछि संकटग्रस्त जिल्ला घोषणा भएको इलाम सामान्य अवस्थामा फर्कदै गर्दा खेलकुदका प्रतियोगिता हुन थालेका हुन् । संघ, संस्था र क्लबहरुले सरकारी र गैरसरकारी संस्थाको सहयोगमा प्रतियोगिताहरु आयोजना गर्दै आएको पमसिटि युवा क्लब फिक्कलका अध्यक्ष अनिल प्रधानले बताए ।
इलाममा प्रायः फुटबल प्रतियोगिताहरु हुन्छ । ग्रामीण  क्षेत्रमा रहेका स–सना मैदानदेखि सदरमुकामको ठुलो टुडिखेलमा बढी मात्रमा फुटबल प्रतियोगिता नै   हुन्छन् । अशोज र कात्तिकमा ठुला पर्व दशैँ र तिहारमा बिदा लामो हुने भएकाले खेलकुद प्रतियोगिता बढी हुने गरेका थिए । तर यो वर्ष ओशज र कात्तिकमा फाट्टफुट्ट मात्रै प्रतियोगिता भएका थिए । इलाममा हुने खेलकुद प्रतियोगितामा दर्शकको उपस्थिति बाक्लो हुन्छ । खेल मैदान मर्मतका लागि गाउँका समाजसेवी र स्थानीय तहले सहयोग गर्दै आएका छन् ।  इलाममा हुने खेलकुदका प्रतियोगितामा इलामसँगै पाँचथर, झापा, मोरङ र  भारतबाट पनि क्लबहरुको सहभागिता हुन्छ । खेलकुद प्रतियोगिताहरुबाट स्थानीयस्तरमा नव खेलाडीहरुपनि उत्पादन हुँदै आएको खेल पत्रकार नमिन ढकालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार