फिक्कल । इलामको चुलाचुली गाउँपालिका, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले पालिकाभित्रका अपाङ्गता भएका बालबालिकामध्ये विद्यालयमा अध्ययनरत २७ जनालाई ब्याग तथा पाठ्यसामग्री वितरण सुरु गरेको छ।
कार्यक्रमअन्तर्गत हिजो पौष ३ गते वडा नम्बर ३ मा तथा आज वडा नम्बर ४ मा सामग्री वितरण गरिएको हो। शाखाले विनियोजन गरेको ५० हजार रुपैयाँ बजेटबाट उक्त कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। अपाङ्गता भएका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदा उनीहरूको पढाइप्रति उत्साह र आत्मविश्वास बढ्ने विश्वास लिइएको छ।
यस किसिमको सहयोगले अभिभावकहरूलाई समेत आर्थिक रूपमा राहत पुग्ने गरेको पाइएको शाखाले जनाएको छ। चुलाचुली गाउँपालिकामा हाल २१० जना महिला र २९६ जना पुरुष गरी जम्मा ५०६ जना अपाङ्गता भएका व्यक्ति रहेका छन्। गाउँपालिकाले आगामी दिनमा पनि लक्षित वर्गलाई केन्द्रमा राखी सहयोग तथा सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।