इलाम : इलामको रोङ गाउँपालिकालाई झापा जोड्ने वैकल्पिक मार्गको काम धमाधम भइरहेको छ । निर्माणाधीन सडकले रोङ-६ धजेबाट मनकामनाधाम‚ जौबारी, कुवापानी‚ चुलिढुङ्गा कृषि बजार, लामिटार र झापाको मेचीनगरपालिकाको भावनाचोक हुँदै धुलाबारी जोड्ने छ ।
अहिले धजेदेखि मनकामनासम्मको तीन किमिमा ग्राब्रेलको काम भइरहेको छ। अन्य खण्डमा पनि स्तरोन्नतिको काम भइरहेको छ। यस सडक निर्माणपछि रोङ-६ का रम्भ्याङ, जौबारी, कुवापानी, फाफोकटार, लामिटारका सयौं बासिन्दाको कृषि उत्पादनलाई झापाका धुलाबारी, बिर्तामोड चन्द्रगढीसम्म लैजान सहज हुने स्थानीय बताउँछन् ।
रोङकै पर्यटकीयस्थल झण्डीडाँडा र मनकामनाधामको विकास र प्रवर्द्धनमा योगदान पुग्नेछ। यस सडक निर्माणका लागि संघीय सरकारबाट आर्थिक वर्ष २०८१/८२ मा तीन करोड ५० लाख‚ आव २०८०/८१ मा एक करोड र आव २०७९/८० मा ५० लाख रकम विनियोजन भएको थियो । यस्तै‚ प्रदेश सरकारबाट आव २०७८र७९ मा २५ लाख रकम छुट्याइएको थियो ।