- मेची राजमार्गको घुम्ती सुधार तथा सडक चौडाइको काम तीव्र गतिमा अघि बढिरहेको छ।
- यस योजनाले दुर्घटना न्यूनीकरण, यात्रा सहजता र पहाड–तराईको सम्बन्ध मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
- स्थानीयवासी र यात्रुहरू सुरक्षित तथा भरपर्दो सडकको आशामा छन्।
इलाम — पूर्वी नेपालका पहाडी जिल्लासँग तराईलाई जोड्ने प्रमुख सडक सञ्जाल मेची राजमार्गमा घुम्ती (मोड) सुधारको काम धमाधम सुरु भएको छ । इलामको रोङ गाउँपालिकाको जोरकलशदेखि हर्कटेसम्म करिब १५ किलोमिटर खण्डमा रहेको साँघुरो र जोखिमपूर्ण मोड सुधार गरी सडक चौडा बनाउने काम अघि बढाइएको हो । अहिले भीर काट्ने र टेवा पर्खाल लगाउने काम तीव्र रुपमा भइरहेको छ ।
साँघुरो सडक र तीव्र घुम्तीका कारण यस खण्डमा बारम्बार सवारी दुर्घटना हुने गरेको छ । यात्रु तथा चालक दुवैका लागि जोखिमपूर्ण बनेको यो सडक खण्डलाई सुरक्षित बनाउन मोड सुधार योजना प्रभावकारी हुने अपेक्षा गरिएको डिभिजन सडक कार्यालय इलामका वरिष्ठ डिभिजन इन्जिनियर पवन भट्टराईले जनाए ।
उनका अनुसार सडक दुर्घटना न्यूनीकरण नै योजनाको मुख्य उद्देश्य हो ।‘सानो सडक र साँघुरो घुम्तीले दुर्घटना बढाएको थियो,’ उनले भने, ‘यो योजना सम्पन्न भएपछि घुम्तीहरू सहज र यात्रा सुरक्षित हुने अपेक्षा छ ।’
यो योजनाको ठेक्का झापा दमकस्थित जेएन्डजे निर्माण सेवाले पाएको छ । गत असारमा ठेक्का सम्झौता भए पनि प्राविधिक तयारी र मौसमका कारण ढिलोगरी काम सुरु गरिएको हो । करिब २३ करोड रुपैयाँ लागत अनुमान गरिएको यो योजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
जोरकलशदेखि हर्कटेसम्म साना–ठूला दर्जनौं घुम्ती छन् । ती सबै घुम्ती सुधार गर्दै सडक चौडा गर्ने योजना रहेको इन्जिनियर भट्टराईले जानकारी दिए । यसै योजनाअन्तर्गत इलामको राजदुवाली क्षेत्रमा बारम्बार समस्या दिने पहिरो रोकथामको काम पनि गरिनेछ ।
पहिरोका कारण बर्सेनि सडक अवरुद्ध हुँदै आएको उक्त क्षेत्रमा स्थायी समाधान खोजिने डिभिजन सडक कार्यालयको भनाइ छ । इकान्तिपुरबाट