इलाम । गत अशोज १८ को वर्षातपछिको बाढी पहिरोका कारण सुनसान भएका इलामका ग्रामीण व्यपारीक केन्द्रहरु अहिले चलायमान बनेका छन् । बाढी पहिरोबाट बजार जोड्ने मुख्य सडकहरुमा क्षति पुग्दा सुनसान भएका व्यपारिक केन्द्रमा सडक खुलेसँगै चहलपहल बढेको हो ।
माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार अशोज १८ को बाढी पहिरोपछि सुनसान झै थियो । वडाबाट पालिका जोड्ने सडक ठप्प हुँदा मुख्य बजार चाडबाडमा समेत सुनसान भएका थिए ।
मंगलबार हाट लाग्ने नयाँबजारमा अहिले सर्वसाधारणको चहलपहल बढेको छ । मेची राजमार्गबाट नयाँबजार जोड्ने र गाउँबाट बजार जोड्ने सडक मर्मत भएपछि बजारमा खरिद बिक्रि पनि बढेको माईजोगमाई गाउँपालिका नयाँबजारका लाक्पाछिरिङ सेर्पाले बताए ।
सडक खुलेपछि कृषि उपज, तरकारीबाली बिक्रि गर्न किसानलाई सहज भएसँगै नयाँबजारमा चहलपहल बढेको हो । सूर्योदय नगरपालिकाको केन्द्र रहेको फिक्कल बजारमा व्यवसायीको चहलपहल बढेको छ । कृषि उपज र तरकारी संकलन भइ बिक्रि हुने फिक्कल बजारको बिहिवार हाटमा उत्पादक र व्यवसायीको चहलपहल बढेको हो ।
नयाँबजार र फिक्कल बजार मात्रै हैन अशोज १८ को वर्षातपछिको बाढी पहिरोपबाट झण्डै एक महिनासम्म इलामका ग्रामीण बजार सुनसान जस्तै थिए । ग्रामीण सडक ठप्प हुँदा किसानको उत्पादन बारीमा नै हुन्थ्यो ।
सडक खुलेसँगै बजारहरुमा अहिले खरिदबिक्रि बढेको हो । ग्रामीण बजारमा किसानले कृषि उपज, तरकारी, घर पालुवा जनवार बिक्रि गर्छन् । किसानको उत्पादन खरिदका लागि झापा, काठमाडौँ र भारतका व्यवसायी इलामका बजारमा पुग्ने गरेका छन् ।
भत्किएका सडक, विद्युत, खानेपानी र सिचाईका आयोजनाहरु मर्मतको काम अहिलेपनि तीनै तहका सरकारबाट हुँदै आएको छ । जसका कारण सर्वसाधारणलाई बजारसम्म पुग्न सहज भएको सन्दकपुर २ का वडाअध्यक्ष सनम राईले बताए । अशोज १८ को वर्षातपछिको बाढी पहिरोले इलाम जिल्ला पूर्णरुपमा प्रभावित भएको थियो । संकटग्रस्त जिल्ला घोषणा भएको इलाममा राहात वितरण, पुनःस्थापना पूर्वाधार मर्मतका कामले सामान्य बन्दै गएपछि ग्रामीण बजारहरु पनि चलायमान बन्दै गएका हुन् ।