अन्तु । घरबास कार्यक्रमबाट पर्यटन प्रवद्र्धन हुँदै आएको इलामको श्रीअन्तुमा होटल र कटेज खुल्ने क्रम बढेको छ । आन्तरिकसँगै बाह्य पर्यटकहरुको गन्तव्य बनेको अन्तुमा अहिले पर्यटकको सेवाका लागि होटल र कटेजमा बाह्य लगानी बढेको हो । हरियो चियाबारीले घेरिएको अन्तु पोखरी वरिपरि अहिले होटल र कटेज प्रशस्तै छन् । पर्यटनको विकास भएको श्रीअन्तु क्षेत्रको अन्तु पोखरी वरिपरिका होटल र कटेजमा दैनिक सयौँ पर्यटकहरुको बास हुन्छ ।
श्रीअन्तु क्षेत्रको भञ्ज्याङ क्षेत्रमा पनि अहिले होमस्टेसँगै होटलहरुको खुल्ने क्रम बढेको छ । होमस्टेको व्यवस्था गरि पर्यटकी सेवा शूरु भएको अन्तुमा अहिले होटल र कटेको संख्या बढी भएको हो । पर्यटकको चाप बढेपछि जग्गा भाडा लिएर र खरिद गरेर होटल कटेजमा लगानी गर्ने व्यवसायीको संख्या बढेको हो । पर्यटन प्रवद्र्धनका लागि समुदायले संचालन गरेको होमस्टेपनि छन् । तर अहिले पर्यटकको चाप बढेपछि होटल र कटेजमा बाह्य लगानी बढेको हो । होटल र कटेजमा लगानी बढेपनि फनपार्कको पनि आवश्यकता रहेको श्रीअन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरे बताए ।
श्रीअन्तु पर्यटन व्यवसायी संघमा अहिले ९४ वटा होटल र कटेजहरु दर्ता भएका छन् । अघिल्लो वर्ष ७४ वटा रहेकोमा अहिले २० वटा थप भएका हुन् । अन्तु सामुदायीक होमस्टेमा ५० परिवारले होमस्टे संचालन गरेका छन् । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै ठाउँ नियाल्न सकिने अन्तुमा प्राचिन शासक लेप्चा जातिको इतिहासको अध्ययन गर्न सकिन्छ । अन्तुमा अहिले दैनिक ५ सय पर्यटक पुग्ने गरेको अन्तुडाँडा सामुदायीक होमस्टेका अध्यक्ष धनकुमार आहालले बताए ।
अन्तु पोखरीको सुधार गर्दै स्थानीयवासीले पोखरीमा डुङ्गा चलाएपछि पर्यटक थप आकर्षित भएका छन् । अन्तुमा नेपाल, भारत सहित तेस्रो मुलुकका पर्यटक पनि पुग्ने गरेका हुन् । अन्तुमा पर्यटक पुग्ने मुख्य सिजन असोज, कात्तिक, मंसिर, फागुन र चैत्र महिना हो ।