सन्दकपुर (माईपोखरी) । पूर्वी पहाडको प्रथम रामसार क्षेत्र इलामको माईपोखरीमा सताव्यापि श्रीमद् भागवत महायज्ञ आयोजना हुने भएको छ । इलामको सन्दकपुर गाउँपालिमा रहेको धार्मिक, पर्यटकीय क्षेत्र माईपोखरीमा रामनहमीको अवसर पारेर श्रीमद् भागवत सप्ताहा महायज्ञ आयोजना हुने भएको हो ।
माईपोखरी रामसार क्षेत्र संरक्षण समितिका संयोजक राज बहादूर राईको अध्यक्षतामा भएको बैठकले सदगुरु मानव सेवा फाउण्डेसनको नेतृत्वमा विभिन्न संघसंस्था र समुदायको सक्रियतामा महायज्ञको आयोजना गरिने भएको हो ।
पर्यटन प्रवद्र्धन र धार्मिक एकतालाई मजबुत गर्ने उदेश्यले प्रवचन र महायज्ञको आयोजना गरिने भएको समितिका सचिव विनोद खतिवडाले जानकारी दिए ।
माइपोखरीलाई पर्यटकीय–धार्मिक केन्द्रका रुपमा विकास गर्ने, धार्मिक सहिष्णुता कायम राख्ने र सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थलको प्रवद्र्धनका लागि माहायज्ञले सहयोग गर्नेछ । महायज्ञको सम्पूर्ण खर्च मानव सेवा फाउण्डेसनले बेहोर्ने समेत निर्णय भएको छ । सन्दकपुुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गको प्रमुख आथित्यता, वडा नम्बर १ का अध्यक्ष रहरकुमार राई, वडा नम्बर २ का अध्यक्ष सनम राई र वडा नम्बर ३ का अध्यक्ष लिलबहादूर बुर्जाको आथित्यतामा बैठक बसेको थियो ।
महायज्ञका अवसरमा माइपोखरी दर्शन–अवलोकन, माइपोखरी परिसरका सत्यधुनी, पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्धगुम्बा, तीनचुलो, युमाथान अवलोकन र धार्मिक प्रवचन सुन्न पाइनेछ । माइपोखरीमा पूजाआजा गरेमा विभिन्न भाकल र मनोकांक्षा पुरा हुने विश्वास गरिँदै आएको छ ।
नौ कुनाको पोखरीः धार्मिक आस्था होस् या पर्यटकीय र जैविक, सबै हिसाबले घुम्ने ठाउँ माईपोखरी बनेको छ । माइपोखरीबाट छिन्टापु, सन्दकपुर जौबारी ढापपोखरी जोड्ने ५० किलोमिटर रेडपाण्डा पदमार्ग निर्माण भएको छ । उच्च पहाडको टाकुरामा कसैले फुर्सदमा कुँदेजस्तो नौ कुनाको पोखरी छ । वरीपरी हरियालीभित्र कतैबाट पनि पूरै भाग नदेखिने भएकाले आधा जसो कुना घुमेरै मात्र देखिनु यसको अर्को विशेषता हो ।
दुई हजार एक सय २१ मिटर अग्लो डाँडामा रहेको माइपोखरीको दुई हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेदनशील मानिएको छ । बाक्लो कुहिरोले छाडेर आकाश छङ्ग खुल्ने बित्तिकै माइपोखरी निकै मनमोहक देखिन्छ । हरीवोधनी एकादशी र प्रत्येक वैशाख १ मा यहाँ ठूलो धार्मिक मेला लाग्ने गरेको छ । माइपोखरी वरपर होमस्टे रहेकाले महायज्ञमा आउने पर्यटकहरु र भक्तजनहरुलाई खानबास बस्न समस्या हुँदैन ।
दर्जनौँ प्रजातिका चाँप, गुराँस र लोपोन्मुख जडीबुटीले घेरिएको माइपोखरीमा आकाश उघ्रेका बेला कञ्चन पानीमा कोणधारी धुपी–सल्लाघारीको छाँया देखिन्छ । प्रेम जोडीको त गन्तव्य हो नै, माइपोखरीमा नवदम्पती बिहे लगत्तै जीवनको अटुट कसम खान पुग्छन् ।
तीर्थ–व्रत गर्न टाढा–टाढादेखि आएका वृद्ध वृद्धाको लहर लाग्छ । पोखरीको वरपर ९० हेक्टरको धार्मिक वन छ । न्यूनतम तीनदेखि अधिकतम १७ डिग्रीसम्म सेल्सिएससम्म तापक्रम पुग्छ । दुर्लभ वन्यजन्तु पाइने माइपोखरीमा वनस्पति पनि दुर्लभ नै भेटिन्छन् । गलैंचे झ्याउ माइपोखरीमा मात्रै पाइन्छ भनिन्छ । अध्ययनहरुका अनुसार स्थानीय धार्मिक वन समूहका अनुसार यहाँ १४ प्रजातिका स्तनधारी, १२ प्रजातिका सरिसृप र छ प्रजातिका उभयचर पाइन्छन् । रुख भ्यागुत्तो, ठकठके, पाहा, हरियो छेपारो, चंखे सर्प र विश्वको लोपोन्मुख ओंत पनि यहाँ पाइन्छन् ।विभिन्न समयमा माइपोखरीको विकासका लागि भएका अध्ययनमा यहाँ ६२ प्रजातिका जडीबुटी पाइएका छन् ।
दर्जनौँ प्रजातिका चाँप, कटुस, झिँगाने, उतिस, लौठसल्ला, चिराइतो, सतुवा, जटामसी, ओखेआलु, बूढो ओखती पाइन्छ । चिमाल प्रजनन अनुसन्धान क्षेत्र, रक गार्डेन, जडीबुटी प्रदर्शनी प्लट, लोठसल्ला प्लट, अर्किड उद्यान, जर्मन प्लान्ट, शोभनीय बगैँचा देखिन्छन् यहाँ । प्रत्येक जसो बिरुवामा तिनका स्थानीय र वैज्ञानिक नाम अङ्कित गरिएको छ । २८ अक्टोबर सन् २००८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दसौँ बैठकले माइपोखरीलाई विश्व सम्पदा सूचीमा राखेको हो ।
थप तस्बिरहरु :