इलाम (समाल्बुङ्ग) । इलामको सूर्योदय नगरपालिका–५ समाल्बुङ्गको ओरेन्ज भ्याली गाउँ सुन्तलाका बोट विहिन बन्दै गएको छ । ६ दशक अघिबाट व्यवसायीक खेती हुँदै आएको गाउँमा अहिले सुन्तलाको बगान मासिएपछि किसान अम्लिसो र अलैँची खेतीमा लागेका छन् ।
१० अघिसम्म सुर्योदय नगरपालिका–५ ओरेन्ज भ्याली टोलका लक्ष्मण लिम्बुको मुख्य आम्दानी सुन्तला खेती थियो । २ सय वटा सुन्तलाका बोटको फल बिक्रिबाट लिम्बुको घरखर्च चल्थ्यो ।
अहिलेको बजार मुल्यमा झैँ सुन्तला बिक्रि हुँदा १० लाख आम्दानी हुन्थ्यो । तर अहिले सुन्तला बगान रोगले सखाप भयो । सुन्तला मासिएपछि लिम्बुले अलैची र अम्रिसो खेती गरेका छन् ।
ओरेन्ज भ्यालीकै सुवास राईको बारीमा २ सय ५० वटा बोटमा लटरम्ब सुन्तला फल्थ्यो । अहिले यो दन्तेकथा भएको छ । सुन्तलाको आम्दानीले घरखर्च चलाउँदै आएका राईले पुनः बिरुवा खोजेर रोपेपनि रोगले मासिन थालेको हो । पुरानो बगान पुरै मासिएपछि ५० वटा सुन्तलाका बिरुवा पुनः रोपेपनि बोट पहेलिने रोग देखा परेपछि कफि र अलैँची खेती लगाउन थालेका छन् ।
६ दशक अघि इलामको सोयाङबाट बिरुवा झिकाएर साविक समाल्बुङ्ग–४ मा सुन्तला खेती शुरु भएको थियो । गाउँका सबै किसानको मुख्य आम्दानीको श्रोत सुन्तला खेती हुन्थ्यो । १० वर्षदेखि बोट पहेंलिने रोग फैलिएर किसानका सुन्तला बगान मासिएका छन् ।
१ सय परिवारको बसोबास रहेको ओरेन्ज भ्यालीमा ८० परिवार किसानको घरमा सुन्तला खेती थियो । अहिले दुई परिवार किसानको घरमा मात्रै सुन्तला बगान छन् । तीन बगानमा पनि रोगले क्रमस सुन्तलाका बोट मरिरहेका छन् । भारतसँग सीमा जोडिएको यो गाउँका किसानले कृषि प्राविधिकको माग गरेपनि उपलब्ध नभएको स्थानीय गंगा बहादुर राईले बताए ।
सुन्तलाको पकेट क्षेत्र नै रहेको टोलको नाम नै ओरेन्जभ्याली राखिएपनि अहिले औषधिको रुपमा मात्रै सुन्तला पाइन्छ । ओरेन्ज भ्याली गाउँबाट वर्षमा २० टन सुन्तला निर्यात हुन्थ्यो । अहिले यो गाउँबाट ४ टन मात्रै निर्यात हुने गरेको छ । । गाउँको मुख्य आम्दानीको श्रोत सुन्तलाका बगान मासिएपछि किसानले अम्रिसो, कफि, अलैँची र मौँरीपालन गर्दै आएका छन् । किसानले माटोको परिक्षण परि पुनः सुन्तला खेती बिस्तारमा सहयोग गर्न माग गर्दै आएपनि तीनै तहका सरकारको ध्यान पुगेको छैन ।
थप तस्बिरहरु :