इलाम । २८ वर्ष अघि ट्रयाक खोलिएको झापाको बुधबारेबाट इलामको इरौटार जोड्ने सडक कालोपत्रे अन्तिम चरणमा पुगेको छ । पूर्वपश्चिम मदन भण्डारी राजमार्गबाट इलामको रोङ गाउँपालिका ५ को इरौटार हुँदै जिर्मले जोड्ने सडक कालोपत्रेले स्थानीय उत्पादनको बजारीकरणमा सहज हुनेछ ।
झापाको धुराबारीबाट इलामको इरौटार हुँदै जिर्मले जोड्ने सडक २०५४ सालमा ट्रयाक खोलिएको थियो । इलामको जिर्मलेबाट इरौटार हुँदै झापाको धुलाबारी जोडने सडक भद्रपुर जोडिन्छ ।
रोङ गाउँपालिका ५ र ६ का वडाबासीको बजार जोड्ने प्रमुख पहुँच मार्गमा यो सडक पर्छ । चुरे क्षेत्रमा पर्ने इरौटार र जिर्मलेबासीको मुख्य सडक ट्रयाक खोलिएको २८ वर्षपछि कालोपत्रे हुँदै आएको हो । कोशी प्रदेश सरकारले रणनैतिक सडक छनौट गरि सडक कालोपत्रे गर्दै आएको छ ।
सडकको झापा खण्डमा कालोपत्रे गर्ने काम सकिएपनि इलाम खण्ड यस वर्ष सक्नुपर्नेछ । इलामको खण्डको इरौटार हुँदै तेलपानी खोलासम्म कालोपत्रे गर्न २०७६ सालमा प्रदेश सरकारले ठेक्का संझौता गरेको हो । सडक कालोपत्रेका लागि स्तरउन्नतीको काम भएपछि यात्रा सहज हुदै गएको छ ।
सडकको अहिलेसम्म ८० प्रतिशत काम पुरा भएको छ । सडक कालोपत्रे गर्न अहिले मुख्य संरचना निर्माण भइ सबबेसको काम हुँदै आएको हो । जसका कारण इरौटार र जिर्मले क्षेत्रबाट कृषि उपज, तरकारीबाली निर्यात गर्न र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको हो ।
४६ करोड २३ लाखमा २५ किलोमिटर सडक कालोपत्रे गर्न संझौता भएपनि अहिले निर्माण लागत ५१ करोड ३२ हजार पुगेको छ । नाला सहित साढे ५ मिटर चौडा कालोपत्रे हुने सडक पुरा गर्न ३ पटकसम्म म्याद थप भएको हो । कन्काई झापाली जेभिले सडक कालोपत्रेको जिम्मा पाएको पूर्वाधार विकास कार्यालय झापाका सुचना अधिकारी ओमप्रकास साहाले बताए ।