रोङ (कोल्बुङ) । इलामको रोङ गाउँपालिकाले अभिभावक विहिन भएका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र पालनपोषणको जिम्मा लिएको छ । संविधानमा उल्लेख भएको मौलिक हक कार्यान्वयन गर्न परिवार विहिन २१ जना बालबालिकाको शिक्षा, स्वास्थ्य र पालन पोषणको जिम्मा गाउँपालिकाले लिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए ।
रोङ गाउँपालिकामा अभिभावक विहिन २१ जना बालबालिका छन् । आफन्तको घरमा बसेर पालपोषण, शिक्षा र स्वास्थ्य पाउँदै आएका बुबाआमा विहिन बालबालिकाहरु बिहिबारबाट गाउँपालिकाले जिम्मा लिएको हो ।
संविधानमा उल्लेख भएको मौलिक हकलाई कार्यान्वयन गर्दै बालबालिकाको शिक्षा, स्वास्थ्य र पालन पोषणको जिम्मा गाउँपालिकाले लिएको हो । उनीहरुलाई कक्षा १२ सम्मको अध्ययनसम्मको सम्पूर्ण खर्च गाउँपालिकाको अक्षयकोषबाट बेहोरिनेछ । अध्यक्षसँग विद्यार्थी कार्यक्रम अन्तरगत अभिभावक विहिन विद्यार्थीहरुका लागि बिहिबारबाट गाउँपालिकाले अभिभावकत्व ग्रहण गरको हो ।
अभिभावकत्व ग्रहण गरेका बालबालिकाहरु अहिले संरक्षक व्यक्तिले सरकारी र निजी विद्यालयमा विभिन्न कक्षामा अध्ययन गराउँदै आएको प्रमुख प्रशासकिय अधिकृत विनोद चौहानले बताए । उनले भने– कोहि नहुनेको भगवानले हेर्छ भन्ने कुरा उखान अब उखानमा सिमित भयो, कोहि नहुनेलाई अब सरकारले हेर्छ भन्ने नारा रोङबाट शुरु भएको छ । गाउँपालिकाले असाय विद्यार्थीलाई पनि सो कार्यक्रममा शैक्षिक सामग्री प्रदान गरेको छ । अभिभावक विहिन र असाय विद्यार्थीको प्रतिव्यक्ति ५ लाखको दूर्घटना विमा गाउँपालिकाले गरेको छ । उनीहरुको स्वास्थ्य उपचारका लागि हरेक वर्ष १ लाखको स्वास्थ्य बिमा गर्नेछ । बालबालिकालाई शिक्षा, स्वास्थ्य, आवास र उपचारका लागि आवश्यक खर्च व्यवस्थापन गर्न गाउँपालिकाले कोष नै बनाएको उपाध्यक्ष बिष्णुमाया भुजेलले बताइन् ।
प्रमुख प्रशासकिय अधिकृत र शिक्षा शाखा प्रमुखको नाममा संयुक्त खाताबाट कोषलाई व्यवस्थित गरि दाताबाट संकलन भएको रकम सबै विद्यार्थीमा बराबर खर्च गर्ने योजना गाउँपालिकाको छ ।
कोषमा तत्काल गाउँपालिकाले प्रति विद्यार्थी १० हजार र सिद्धि हाइड्रोपावरबाट प्रति विद्यार्थी २० हजारको दरले रकम जम्मा भएको हो । गाउँपालिकाले कानुन नै बनाएर जोखिममा परेका विद्यार्थीको अभिभावकत्व लिएको शिक्षा शाखा प्रमुख कुमारी तामाङले बताए ।
विद्यार्थीलाई अर्को व्यवस्था नभएसम्म अहिले बास बस्ने ठाउँमै राखिनेछ । बासको व्यवस्था र होस्टल तायरपछि स्वइच्छाले होस्टलमा राख्ने गाउँपालिकाको योजना छ । कक्षा १२ सम्म शिक्षाको पूर्ण जिम्मेवारी लिएको गाउँपालिकाले लत्ताकपडा, खानाको प्याकेजिङ्ग विद्यार्थीको इच्छा अनुसार प्रदान गर्नेछ । रोङ गाउँपालिकामा २१ जना अभिभावक विहिन र १७ जना असाह विद्यार्थी रहेको तथ्याङ्क छ ।