फिक्कल । पछिल्ला दिनमा महिला फुटबल क्षेत्रमा देउमाई फुटबल क्लब (डि.एफ.सी) चमैता निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । देउमाई नगरपालिका–१ मा स्थापना भएको क्लबले इलाम र पाँचथर क्षेत्रमा भएको महिला फुटबलमा आफुलाई प्रमाणित गर्दै आएको हो ।
क्लबले पछिल्लो समय लगातार सहभागिता जनाएको ३ वटा प्रतियोगितामा ट्रिबल उपाधि जितेको छ । हालै सम्पन्न बडा दसैं तथा शुभ दिपावली कप, दोस्रो दिपावली कप, र दोस्रो थोकफेला कप मा डि.एफ.सी. चमैताले उपाधि जितेको हो ।
पाँचथरको चिलिङदिनमा न्यु भिजन क्लबले आयोजना गरेको बडा दसैं तथा शुभ दिपावली कपमा आरोहण एफसी सप्तमीलाई २–१ गोल अन्तरले पराजित गर्दै डिएफसीले उपाधि जितेको थियो । उसले उपाधिसंगै नगद २० हजार प्राप्त गरेको छ ।
त्यसैगरी तीनचुले युवा समाज फाल्गुनन्द गाउँपालिका–४ च्याब्लुङमा भएको दोस्रो दिपावली कपमा एस.एस.एफ.सी. सुकेपोखरीलाई टाईब्रेकरमा ४–३ ले हराउँदै अर्को उपाधि जित्न सफल भएको थियो । उपाधिसंगै नगद २० हजार प्राप्त गरेको थियो । त्यसपछि १० हजार पुरस्कार राशीको दोश्रो थोकफेला कपमा दिपशिखा एफसी पाँचथरमाथि ३–१ को जित निकाल्दै ट्रिबल उपाधि जित्न सफल भएको हो ।
खेलाडीहरूको उत्साह, तालिममा लगनशीलता र टोलीबीचको एकताले टोलीको सफलतामा मुख्य भूमिका खेलेको क्लबका अध्यक्ष सुनिल राई बताउँछन् । क्लब स्थापनाको छोटो अवधिमा खेलाडीहरुको एकताका कारण ट्रिबल उपाधि जित्न सफल भएको उनले बताए ।
क्लबले गत बर्षबाट देउमाई कप महिला तथा पुरुष फुटबल आयोजना गर्दै आएको छ । पहिलो संस्करणको प्रतियोगितामा नेपालको उमेर समुहका राष्ट्रिय खेलाडी र कोशी प्रदेश टिमका महत्वपूर्ण सदस्यहरुले डिएफसीको मैदानमा आफ्नो कौशल देखाएका थिए । यस बर्ष समेत आयोजकले दोश्रो संस्करणमा प्रतियोगिताको तयारी अघि बढाएको अध्यक्ष राईले बताए ।