फिक्कल । महिला सृजना बहुद्धेश्य सहकारी संस्था फिक्कलको २५ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष कालिका राईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष गायत्रा ओली, पूर्व व्यवस्थापक मुक्तादेवी शर्मा, उपाध्यक्ष सावित्रा गड्तौला लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा संचालक समितिका सदस्य, लेखा समिति, सल्लाहकार समिति लगायत ११ वटा अन्तर समुहका ३ सय भन्दा बढिको सहभागिता थियो ।
कार्यक्रमको संचालन दुर्गा भट्टराई दाहालले गरेकी थिइन् । कार्यक्रममा ४ करोड ५७ लाख ४१ हजार ७१ रुपैया ४८ पैसाको आयव्यय लेखा संयोजक चण्डीका सापकोटा दाहालले प्रस्तुत गरिन् । संस्थाले गत आर्थिक बर्षमा १ लाख ७८ हजार ५ सय ९७ रुपैया ३७ पैसा नाफा आर्जन गरेको छ । साविकको फिक्कल गाविस (हाल सूर्योदय नगरपालिका–८,९ र १०) कार्यक्षेत्र बनाएर स्थापना भएको संस्थामा हाल ५५३ जना सेयर सदस्यहरु रहेका छन् ।

संस्थामा आवद्ध सदस्यहरु १७२ वटा समुहमा विभाजन गरिएको छ । संस्थामा ३६३ बालबालिका र १६९ किशोरी, स्वेच्छिक बचतकर्ता ३३७, भविष्य बचत ६६ जना, एकल बचत १८ जना रहेको संस्थाको व्यवस्थापक शकुन्तला शर्माले जानकारी दिइन् । संस्थाले बचत तथा ऋण कार्यक्रममा अतिरिक्त घरेलु हिंसा विरुद्ध सचेतना अभियान, १६ दिन प्रजनन स्वास्थ्य अभियान, नारी दिवस, तीज कार्यक्रम, सहकारी दिवसका कार्यक्रमहरु गत आर्थिक बर्षमा गरेको थियो ।
संस्थाले जटिल बिरामी भएका सदस्यहरुलाई ५ हजारका दरले सहयोग गर्दै आएको छ । संस्थाले सुत्केरी निवारण कार्यक्रम अन्र्तगत सुत्केरीहरुलाई १ हजार नगद र पोषणयुक्त खानेकुरा प्रदान गर्दै आएको छ ।
