Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलामका पहिरो प्रभावितलाई अस्थायी आवासका लागि पहिलो किस्ताको रकम निकासा

इलामका पहिरो प्रभावितलाई अस्थायी आवासका लागि पहिलो किस्ताको रकम निकासा

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक २३ २०८२


इलामका पहिरो प्रभावितलाई अस्थायी आवासका लागि पहिलो किस्ताको रकम निकासा
  • राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विस्थापित घरपरिवारका लागि अस्थायी आवास निर्माण गर्न प्रति परिवार २५ हजारका दरले रकम निकासा गरेको हो।

इलाम । इलामका पहिरोपीडित २०९ घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा भएको छ । राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ती विस्थापित घरपरिवारका लागि अस्थायी आवास निर्माण गर्न प्रति परिवार २५ हजारका दरले रकम निकासा पठाएको हो ।

उक्त रकम जिल्ला प्रशासन कार्यालय इलाममार्फत भुक्तानी हुने गरी पठाइएको प्राधिकरणका लेखा अधिकृत तुलसीराम बस्नेतले जानकारी दिए । उनका अनुसार विपद्‌–प्रभावित स्थानीय तहहरूको सिफारिस र जिल्ला विपद्‌ व्यवस्थापन समितिको निर्णयअनुसार पूर्णरूपमा घर क्षति भएर बस्नै नसक्ने अवस्थामा पुगेका नागरिकलाई अस्थायी आवास निर्माण गर्न उक्त रकम पठाइएको हो ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार अस्थायी आवासका लागि रकम प्राप्त गर्नेमा इलाम नगरपालिकाका १०८, सूर्यदय गाउँपालिकाका ४७, सन्दकपुर गाउँपालिकाका ४४ र माङसेबुङ गाउँपालिकाका १० घरपरिवारका लागि रकम निकासा भएको हो ।

उक्त रकम जिल्ला प्रशासन कार्यालयबाट सम्बन्धित पीडितका खातामा निकासा हुने बताइएको छ । आवास निर्माण सकिएपछि पुनः दोस्रो किस्ताको (२५ हजार) रकम पठाइने प्राधिकरणले जनाएको छ । बाढी र पहिरो–प्रभावित अन्य स्थानीय तहका पीडितका लागि रकम निकासा गर्ने प्रक्रिया सुरु भइसकेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार