Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुनसान पर्यटकीय गन्तव्य थुम्केरानी (तस्बिरहरु )

सुनसान पर्यटकीय गन्तव्य थुम्केरानी (तस्बिरहरु )

  • सुजन तिमल्सिना
  • शुक्रबार, कार्तिक २२ २०८२


सुनसान पर्यटकीय गन्तव्य थुम्केरानी (तस्बिरहरु )
इलाम ।  आन्तरिक र बाह्य पर्यटकहरुको आकर्षणको गन्तव्य बनेको इलामको थुम्केरानी पर्यटकीय क्षेत्र अहिले सुनसान भएको छ । नेपाल र भारतीय पर्यटकहरुको आकर्षक गन्तव्य भएपनि पछिल्ला वर्षमा पूर्वाधार निर्माण अभावले थुम्केरानी क्षेत्र ओझेलमा परेको हो ।  माईजोगमाई गाउँपालिको केन्द्र नयाँबजार देखि ५ किलोमिटरको यात्रामा पुग्न सकिने पर्यटकीयस्थल हो,थुम्केरानी । सुर्योदय र सुर्यास्तको दृश्यावलोकनसँगै प्राकृतिक वातावरणमा रमाउन सकिने थुम्केरानी क्षेत्र अहिले सुनसान छ ।
नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको थुम्केरानीमा पछिल्ला ३ वर्षमा पूर्वाधार निर्माण र प्रचारप्रसारका काम ठप्प छन् । जसका कारण पर्यटकीय गतिविधि बढेका छैनन् । थुम्केरानी इलाम सदरमुकामबाट सुर्योदयको दृश्यावलोकन गर्न सकिने नजिकको पर्यटकीय गन्तव्य हो ।
पूर्वी नेपालको मुस्ताङले परिचित जौबारी यात्रा गर्दा बाटैमा पर्ने थुम्केमा आन्तरिक पर्यटकहरूको संख्या बढ्दै अवस्था त्यस अनुसारको पूर्वाधार विकास नभएको हो । थुम्केरानीमा अहिले स्थानीय  तह र प्रदेश सरकारको ध्यान पुग्न सकेको छैन । इलाम बजारदेखि डेढ घन्टामा थुक्केरानी पुग्न सकिने माईजोगमाई गाउँपालिका निर्वतमान अध्यक्ष जीतबहादूर राईले बताए ।
नयाँबजार बास बसेर बिहानै ३० मिनेटमा पुग्न सकिने भएपनि अहिले थुम्केरानी क्षेत्रमा नै होमस्टे संचालनमा आएका छन् । तर होमस्टेमा बास बस्ने पर्यटकको संख्यामा कमी छ । पर्यटकको आकर्षणका लागि पोखरी निर्माण गरिएपनि अहिले भत्काइएको छ । असोज, कात्तिक, मंसिर, चैत्र र बैशाख महिनामा थुम्के क्षेत्रमा बढी पर्यटकहरु पुग्ने गरेका छन् । समुुद्री सतहको २ हजार ४ सय मिटर अवस्थित थुम्केरानीको पहिचान लामो छ । तर पूर्वाधार थप नहुनु र भएका पूर्वाधार पनि संरक्षणमा स्थानीय तहले चासो दिएको छैन ।
थुम्केरानी क्षेत्रबाट इलामका १० वटै स्थानीय तहसँगै तराईका फाटहरुको दृश्यमा मज्जाले रमाउन सकिन्छ । आँखै अगाडी नियाल्न सकिने भारतीय सहरहरु दार्जिलिङ्ग, कर्साङको दृश्य देखिन्छ । यहाँ पुग्ने पर्यटकले घना जंगल, फराकिला फाटहरु, हिमश्रृङ्खलासँगै लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको दृश्यावलोकन गर्ने पर्यटन व्यवसायी लिलाबल्लभ आचार्यले बताए ।   थुम्केमा पर्यटकीय सिजनमा दैनिक २० जनासम्म पर्यटक पुग्छन् । थुम्के क्षेत्रमा खानेपानी, भ्युटावर, पार्क, सडक, गोलघर र पदमार्ग थप गर्नुपर्ने देखिन्छ ।
थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार