Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

करसोङ पदमार्गको १९ किलोमिटर एकैदिन सरसफाई

करसोङ पदमार्गको १९ किलोमिटर एकैदिन सरसफाई

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक २० २०८२


करसोङ पदमार्गको १९ किलोमिटर एकैदिन सरसफाई

रोङ । इलामको रोङ गाउँपालिका–३ हाँसपोखरीदेखि झापाको मेचीनगर नगरपालिका–१ निन्दा सिरानसम्म फैलिएको करसोङ पदमार्गमा आइतबार एकैदिन सरसफाई अभियान सम्पन्न भएको छ ।

पदमार्गको करिब १९ किलोमिटर दुरीमा गरिएको सरसफाईमा ४४५ जना भन्दा बढिले सहभागिता जनाएका थिए । सहभागीमध्ये पुरुष ३५१ जना (७८.८८ प्रतिशत) र महिला ९४ जना (२१.२१ प्रतिशत) थिए ।

उमेरको आधारमा हेर्दा २० देखि ३९ वर्ष उमेर समूहका २९९ जना (६७.१९ प्रतिशत), ४० देखि ५९ वर्षका १४५ जना (३२.५८ प्रतिशत) र ६० वर्ष माथिका १ जना सहभागी रहेका थिए ।

सरसफाई कार्य विभिन्न टोल विकास समितिहरू र स्थानीय बासिन्दाहरूले खण्ड–खण्डमा बाँडी गरेर सञ्चालन गरेका थिए । साथै, रोङ गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, पत्रकार, नेपाल प्रहरी, शसस्त्र प्रहरी, मेचीनगर र सूर्योयद नगरपालिकाको उत्तरे टोलका बासिन्दा र स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो र उपाध्यक्ष बिष्णुमाया खवास आफै सिक्कल बोकेर झाँडी फाड्न अग्रसर बनेका थिए । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो सुवासले करसोङ पदमार्ग पछिल्ला वर्षहरूमा घरेलु र बाह्य पर्यटकको रोजाइमा पर्न थालेको बताए ।

“यो पदमार्गले इलाम र झापाको पर्यटनलाई जोड्ने एउटा प्राकृतिक पुलको काम गरेको छ,” उनले भने, “पर्यटकीय महत्व बढ्दै जाँदा यसको सौन्दर्य र स्वच्छता जोगाउन स्थानीयले निरन्तर अभियान चलाइरहेका छन्।”

स्याङबोको अनुसार सरसफाई अभियानले केवल फोहर व्यवस्थापनमा योगदान दिएको छैन, यसले समुदायमा पर्यावरणप्रतिको चेतना पनि बढाएको छ । “पर्यटकहरू स्वच्छ र सुरक्षित पदमार्ग चाहन्छन् । हामीले आफूले बास गरेको ठाउँलाई सफा राखे मात्र पर्यटन दीगो हुन्छ भन्ने बुझाइ बढ्दै गएको छ,” उनले बताए ।

उपाध्यक्ष खवासका अनुसार करसोङ पदमार्ग चिया बगान, वन क्षेत्र र हिमशृङ्खलाको सुन्दर दृश्यावलोकनका लागि उपयुक्त पदयात्रा मार्ग हो । यहाँबाट कञ्चनजङ्घा, मकालु हिमशृङ्खलाका दृश्यहरू स्पष्ट देखिन्छन् । साथै, पदमार्ग नजिकै रहेका गाउँहरूमा लोपोन्मुख संस्कृतिहरू, मौलिक घर–परिवार र स्थानीय जातीय परम्पराहरू पनि आकर्षणका केन्द्र बनेका छन् ।

गाउँपालिकाले आगामी दिनमा पदमार्गमा डस्टबिन, विश्राम स्थल र सूचना बोर्डहरू जडान गर्ने योजना बनाएको जनाएको छ । साथै, पदयात्रा प्रेमीहरूका लागि स्थानीय होमस्टे विस्तार र सांस्कृतिक स्वागत कार्यक्रमहरू सञ्चालन गर्ने तयारी पनि भइरहेको छ ।

करसोङ पदमार्ग इलाम र झापाको सीमामा पर्ने रमणीय पदयात्रा मार्ग हो, जहाँबाट हिमशृङ्खला, चिया बगान र मेची नदीको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । स्थानीय सरोकारवालाहरूले यस पदमार्गलाई प्रदेश १ का आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार