इलाम । गत अशोज १८ को बाढी पहिरोले इलाममा करोडौँको मूल्य बराबरका पशुहरुको ज्यान जानुका साथै गोठहरुमा क्षति पुगेको छ । आर्थिक आय कम भएका किसानको घरखर्च चलाउने माध्यम भएका गाईबस्तु गोठसँगै बगेपछि इलामका सयौँ किसानहरुको आर्थिक अवस्था कमजोर हुने देखिन्छ । २०८२ अशोज १८ को वर्षातपछिको पहिरोले इलाम अहिले विपद् संकटग्रस्त जिल्ला भएको छ । इलाममा ठुलो धनजन, मानविय क्षति मात्रै भएको छैन गरिब किसानले आयश्रोतको माध्यम बनाएका पशुहरु सयौँको संख्यामा मरेका छन् । बाढीमा बगेका र बेपत्ता भएका पशुहरुको संख्या सयौँ छ । घाइते पशुहरुको संंख्या पनि उत्तिकै छ । घरखर्च चलाउने माध्यम भएका गोठका पशुहरु पहिरोले लगेपछि किसानमा आर्थिक संकट शुरु भएको छ । इलाममा बढी गाईपालन हुन्छ । गाईको दूध बिक्रिबाट दैनिक घर खर्च चलाउने किसानहरुको गोठसँगै गाई बगाएपछि आयश्रोत गुमेको हो ।
भेटरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्याङ्कमा इलाममा ३ हजार ९ सय ३८ पशुहरु मृत्यु र बेपत्ता भएका छन् ।
मृतक र बेपत्ता पशुहरुमा गाई, भैसी, बाख्राहरु रहेका छन् । किसानको घरमा पालिएका पंक्षिहरुको पनि ठुलो क्षति भएको केन्द्रका प्रमुख डां राघबेन्द्र तिवारीले बताए । विपत्तिमा परेका पशुपक्षिको क्षति मुल्याङ्कन गर्दा २ करोड ३५ लाख ५१ हजार हुन्छ । तर अझै संकलन हुने क्रम भएकाले अझै बढ्नेछ । त्यसैगरि पशुहरुको गोठहरु पनि सयौँको संख्यामा क्षति भएका छन् । गोठहरुको क्षतिको मुल्याङ्कन २ करोड ३८ हजार रहेको छ ।
घाइते पशुहरुको उपचार र मरेका पशुहरुबाट रोग फैलन नदिन इलाममा पशु डाक्टरहरु सहित प्रारम्भिक उपचारको काम पनि भएका छन् । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले स्थानीय तहका पशु सेवा शाखाको समन्वयमा घुम्ति सेवा गरि घाइते पशुहरुको उपचार गरेको थियो ।
केन्द्रले क्षतिग्रस्त पशुहरुको गोठ व्यवस्थापनका लागि त्रिपाल, आहाराका लागि दाना र मरेका पशुरुहरुबाट रोग फैलन नदिन औषधिहरु प्रदान गरेको हो । इलामका १० वटै स्थानीय तहमा ठुलो क्षति भएको छ । पहिरोबाट घरबार विहिनसँगै कृषिबाली र पशुहरु गुमाएका इलामबासीका लागि आगामि दिन कठिन हुने देखिन्छ । विपत्तिबाट ज्यान जोगाएका परिवारहरुको आर्थिक अवस्था सुधार्न सरकारले सामाजिक र आर्थिक पुनःस्थापनाका कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।
थप तस्बिरहरु :