इलाम । तराईबाट पूर्वी पहाडलाई जोड्ने मेचीराजमार्ग पुनः बन्द भएको छ । मेची राजमार्ग अन्तरगत इलामको माईखोला खण्डमा पुनः सडक धसिएपछि राजमार्ग ठप्प भएको हो । मेची राजगर्माको वैकल्पिक राजमार्गको रुपमा रहेको तिल्केनी सिमलगोलाई सडक खण्ड पनि ठप्प भएको छ । यो सडक खण्डको जोगमाई खोलाको हुमपाइप बगाएपछि यो सडक पनि ठप्प भएको हो । जिल्ला प्रशासन कार्यालय इलामले मेची राजमार्गमा यातायात संचालनमा रोक लगाएको छ ।
प्रशासनले निरन्तर वर्षाका कारण इलाम जिल्लाको मेची राजमार्ग स्थित राजदुवाली सडकखण्ड दबिँदै, भासिँदै र चिरिँदै गएको साथै तिल्केनी–सिमलगोलाई शिल्पुर सडक खण्ड समेत पहिरोका कारण अवरुद्ध बनेको हुँदा यातायात संचालनमा रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय इलामबाट अर्को सूचना जारी नभएसम्मका लागि उल्लेखित बाटो हुँदै सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालयको सुचनामा उल्लेख छ ।