Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

बुद्धशान्तिमा साहित्यिक चर्चा : ‘घर दलान साहित्य’को ८३औँ शृङ्खला सम्पन्न

बुद्धशान्तिमा साहित्यिक चर्चा : ‘घर दलान साहित्य’को ८३औँ शृङ्खला सम्पन्न

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक १२ २०८२


बुद्धशान्तिमा साहित्यिक चर्चा : ‘घर दलान साहित्य’को ८३औँ शृङ्खला सम्पन्न

बुद्धशान्ति : झापाको बुद्धशान्ति गाउँपालिकामा साहित्यिक चेतना फैलाउने उद्देश्यले सञ्चालन हुँदै आएको ‘घर दलान साहित्यिक अभियान’को ८३औँ शृङ्खला एक भव्य उपस्थितिका बीच सम्पन्न भएको छ। ‎साविक शान्तिनगरस्थित पूर्व प्रधानाध्यापक तथा साहित्यिक व्यक्तित्व शिवकुमार पौड्यालको निवास प्राङ्गणमा आयोजित कार्यक्रममा स्थानीय बालबालिका, कवि, लेखक, कलाकार र साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

‎कार्यक्रमको अध्यक्षता प्रजापति कोइरालाले गरेका थिए । उप–प्राध्यापक केशबहादुर राई प्रमुख अतिथि र भिष्मराज ढुंगेल विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रमको सञ्चालन शिवकुमार पौड्यालले गरेका थिए । कार्यक्रममा क्यान्सरपीडित स्थानीय सामाजिक र शैक्षिक व्यक्तित्व शिव शर्मा चापागाईं दम्पती तथा १२ वर्षदेखि मिर्गौला डायलाइसिस गरिरहेकी गीता पौडेल प्रधानलाई सम्मान गरिएको थियो। वक्ताहरूले दुबै सम्मानित व्यक्तिहरूको संघर्ष र समाजसेवाप्रतिको योगदानलाई प्रेरणाको स्रोतका रूपमा व्याख्या गरे।

‎कार्यक्रममा कलाकार कुशल पौडेलको नेपाली राष्ट्रिय गीतहरूको साङ्गीतिक प्रस्तुति रहेको थियो , स्थानीय बालबालिकाले कविता वाचन र नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न क्षेत्रका लेखक श्रष्टाहरूले साहित्यिक प्रस्तुति दिएका थिए।अतिथि वक्ता शिव शर्मा चापागाईं र चन्द्र भण्डारीले आफ्ना भावनात्मक मन्तव्य दिँदै साहित्यले समाजमा चेतना जगाउने र मानवताको भाव फैलाउने काम गरिरहेको उल्लेख गरे ।

‎घरदलान साहित्य अभियानको स्थापना विक्रम सम्वत २०७४ साल मङ्सिरमा साहित्यकार गणेशकुमार निरौलाको घरदलानबाट सुरुवात गरिएको थियो।  यस साहित्यिक कार्यक्रम मार्फत प्रत्येक महिनाको अन्तिम शनिबार यस अभियानका सदस्य को घरदलानमा कुनै एकजना साहित्यकारको ९स्थानीयरराष्ट्रिय० कृति को समीक्षा गर्ने गरिन्छ। यस संस्थाले नव युवाहरूलाई साहित्यिक गतिविधिमा संलग्न राख्न उनीहरूलाई सहभागी गराउँदछ ।

वर्षभरि प्रस्तुत साहित्यिक कृतिमध्ये उत्कृष्ट कृतिहरूको सँगालो स्मारिकाका रुपमा प्रकाशन गर्ने गरिन्छ । प्रत्येक वर्ष एकजना श्रष्टालाई वर्षकवि घोषणा गरी पुरस्कृत गरिन्छ जसका प्रायोजक गणेश निरौला छन् । ८३ औँ घर दलान साहित्यिक अभियानका कार्यक्रमका अध्यक्ष प्रजापति कोइरालाले साहित्यिक कार्यक्रम निरन्तर सञ्चालन हुनु नै बुद्धशान्तिमा साहित्यिक माहोल बिस्तार भइरहेको ठोस प्रमाण भएको बताए ।

“साहित्यले समुदायलाई जोड्ने, मूल्य र संस्कृतिलाई संरक्षण गर्ने काम गरिरहेको छ। यही अभियानले गाउँ–गाउँमा साहित्यिक आत्मा जगाएको छ।” उनले भने कार्यक्रमका प्रमुख अतिथि साहित्यकार केशबहादुर राईले कार्यक्रममा प्रस्तुत गरिएका कविताहरूले वर्तमान परिवेशको चित्रण गरेको उल्लेख गरे । कार्यक्रमलाई स्थानिय बासिन्दा र सहभागीहरूले बुद्धशान्तिको सांस्कृतिक जीवन्तताको प्रतीकका रूपमा व्याख्या गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार