इलाम– पूर्वी नेपालको सुन्दर चिया बगानको नाम आउँदा धेरैले इलामको कन्यामको नाम लिन्छन् । मेची राजमार्गमा पर्ने यो चिया बगान क्षेत्रमा निक्कै चहलपहल छ । तर, इलामको अर्को चिया बगान पनि उत्तिकै सुन्दर छ, जसले पछिल्ला वर्षमा आन्तरिक पर्यटकलाई लोभ्याइरहेको छ । त्यो हो पानीटार ।
थुम्किला पहाडमा रोपिएको चिया बगानले यो क्षेत्र चित्ताकर्षक छ । सानासाना पहाडका थुम्का छन्, बीचबीचमा बाटो छ । यहीँ रहेको चिया बगान निक्कै सुन्दर देखिन्छ । यही सुन्दरताले यहाँ आउनेको संख्या उलेख्य रूपमा बढ्दै गएको छ । छिमेकी भारतको सिक्किम तथा वेस्ट बंगालबाट पनि यहाँ पर्यटक आएको देखिन्छ ।
देउमाई नगरपालिकामा पर्ने यो क्षेत्र ग्रामीण जनजीवन, चियाको हरियालीले सुन्दर छ । चिसो मौसम रहेकाले रुचिकर छ । मेची राजमार्गको नेपालटारबाट आधा घण्टामा यहाँ पुगिन्छ । झापाको शनिश्चरेबाट ५५ किलोमिटर दूरी पार गरेपछि यहाँ पुगन् सकिन्छ । तर, यो बाटो अहिले बाढीका कारण सञ्चालनमा आउन सकेको छैन ।
यहाँ हरेक दिन पर्यटक पुग्छन् । बस्नलाई होमस्टे छन् । विभिन्न म्युजिक भिडियो, फिल्मसमेत यहाँ सुटिङ भइरहेको देख्न सकिन्छ ।