इलाम । इलाम नगरपालिका–११ सोयाकमा संचालित तेस्रो खुल्ला नक–आउट फुटबल प्रतियोगिता २०८२ मा आयोजक र महाता एक्तेन एफसी बिजयी भएका छन् । उद्धघाटन खेलमा आयोजकले बास्थला एफसीलाई सडनडेथमा हराएको हो ।
निर्धारित समयमा दुवै टिमले १–१ गोल बराबरी खेलेका थिए । दोश्रो खेलमा महता एक्तेनले नामथला एफसीलाई ४–० गोल अन्तरले हराएको हो । पहिलो हाफ १–० अग्रता बनाएको एक्तेनले दोश्रो हाफमा थप ३ गोल गर्न सफल रहयो ।
नाम्दिङगो नालीफुङ्वा सन्जुम्भोको आयोजनामा कार्तिक १५ गतेसम्म चल्ने प्रतियोगिताको दोश्रो दिन एमएफसी साङरुम्बा र फक्तालुङ एफसी भिड्नेछन् । दोश्रो खेलमा झुल्के घाम एफसी र पानीटार एफसी भिड्नेछन् ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना भएको प्रतियोगितामा इलामका १६ टिमलाई सहभागि छन् । विजेता टिमले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन् ।
साथै उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र युवा खेलाडीलाई पनि ट्रफी र मेडलले सम्मान गरिनेछ । कल्याण राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस इलामका उपसभापति खगेन्द्र देवानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा इलाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष इश्वर चिपालु, देव कुमार जवेगुले मन्तव्य राखेका थिए । कार्यक्रममा निवर्तमान वडाध्यक्ष रविन एक्तेनले स्वागत मन्तव्य राखेका थिए ।