Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

जिल्ला खेलकुद बिकास समितिको नयाँ भवन निर्माण

जिल्ला खेलकुद बिकास समितिको नयाँ भवन निर्माण

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक ४ २०८२


जिल्ला खेलकुद बिकास समितिको नयाँ भवन निर्माण

इलाम । वर्षौंदेखि जोखिमपूर्ण पुरानो भवनमै गतिविधि सञ्चालन गर्दै आएको जिल्ला खेलकुद विकास समितिले अब आधुनिक भवनमा प्रवेश गरेको छ । इलाम नगरपालिका–७ टुडिखेल नजिकै नयाँ भवन निर्माण भएको हो । संघीय सरकारको बजेटमा बनेको यो भवनले जिल्लाको खेलकुद क्षेत्रमा नयाँ अध्याय लेख्ने अपेक्षा गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिको पहिलो चरणको नयाँ भवन निर्माण सम्पन्न भएसँगै वर्षौँदेखि जोखिमपूर्ण पुरानो भवनमा निर्भर रहँदै आएका खेलकर्मीहरूको समस्या समाधान हुने भएको छ । संघीय शहरी विकास मन्त्रालयको बजेटमा निर्माण गरिएको यो भवन पहिलो चरणमा ५० लाख रुपैयाँ लागतमा एक तल्ला सम्पन्न गरिएको थियो।

डिपिआर अनुसार यो भवन चार तल्ले हुनेछ, जसको अनुमानित लागत पाँच करोड रुपैयाँ रहेको समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाको भनाई छ । “यो भवनले अब इलामका खेलाडीलाई सुरक्षित र व्यवस्थित वातावरणमा अभ्यास गर्न सहयोग गर्नेछ” अध्यक्ष बाँस्तोलाले भने । बाँस्तोलाको नेतृत्वमा अघि बढाइएको परियोजनाले अब जिल्लामा खेलकुदका गतिविधि अझ सुदृढ हुने संकेत देखाएको छ ।

निर्माण सम्पन्न पहिलो तला र निर्माणाधीन दोस्रो तला व्यवसायिक प्रयोजनका लागि सञ्चालन गर्ने योजना छ । तेस्रो तलामा समितिको कार्यालय रहनेछ भने चौथो तलामा खेलाडीका लागि कभर्ड हल निर्माण गरिनेछ । ११ आनाको क्षेत्रफलमा फैलिएको यो भवन अहिले आंशिक रूपमा सञ्चालनमा आएको छ । यससँगै समितिले जिल्लामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई विकेन्द्रिकरण गरी २०७९ सालदेखि पालिका–पालिका स्तरमा सञ्चालन गर्दै आएको छ ।

हालसम्म फाकफोकथुम, माङसेबुङ र माई नगरपालिकामा प्रतियोगिता सम्पन्न भइसकेको छ । अब सूर्योदय नगरपालिकामा आयोजना गर्ने तयारी भइरहेको छ । तर, बजेटको अभाव भने समितिको मुख्य चुनौती बनेको छ । प्रदेश खेलकुद विकास बोर्डबाट वर्षमा अढाईदेखि तीन लाख रुपैयाँ मात्रै आउँछ, त्यो रकम जिल्लाका सम्पूर्ण गतिविधि सञ्चालनका लागि पर्याप्त नहुने समितिले जनाएको छ ।

धेरै योजना भएपनि स्रोत र बजेट सीमित रहेकाले खेलकुदका लागि तीनै तहको सरकारको ध्यान आवश्यक छ । जिल्लाको खेलकुद विकासमा अझ गति ल्याउन संघीय, प्रदेश र स्थानीय तहबीचको समन्वय र पर्याप्त बजेट अपरिहार्य भएको समितिको भनाइ छ ।

यसैबीच, अध्यक्ष खगेन्द्र बाँस्तोलाको नेतृत्वमा चार वर्षे कार्यकाल पूरा गरेको समितिलाई एक कार्यक्रमका बीच विदाई पनि गरिएको छ । उनको यो प्रयासले इलामको खेलकुदमा नयाँ अध्याय सुरु गरेको भन्दै खेलकर्मीहरूले प्रशंसा गरेका छन् । इलामका खेलाडीका लागि यो भवन अब आशाको प्रतीक बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार