Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

लगातार विपत्तिमा सन्दकपुर : गत वर्ष धन, यस वर्ष जनधनको व्यापक क्षति 

लगातार विपत्तिमा सन्दकपुर : गत वर्ष धन, यस वर्ष जनधनको व्यापक क्षति 

  • सुजन तिमल्सिना
  • आइतबार, कार्तिक ३ २०८२


लगातार विपत्तिमा सन्दकपुर : गत वर्ष धन, यस वर्ष जनधनको व्यापक क्षति 
इलाम  : इलामको सन्दकपुर गाउँपालिका पछिल्ला दुई वर्षमा दैविक प्रकोपको चपेटामा परेको छ । गत असोज ९ गतेबाट १३ गतेसम्म चलेको वर्षात र पहिरोले करोडौँको क्षति बेहोरेको सन्दकपुर यस वर्ष असोज १८ को वर्षातपछिको पहिरोले ७ जनाले ज्यान गुमाएका छन् भने भौतिक पूर्वाधारमा भएको क्षति पूर्व अनुमान नै गर्न सकिएको छैन ।
यस वर्ष असोज १८ को वर्षातपछिको पहिरोले इलाममा ठुलो धनजनको क्षति भयो । इलाम अहिले संकटग्रस्त जिल्ला घोषित छ । तर इलामको शीर सन्दकपुर गाउँपालिका गत वर्ष नै संंकटग्रस्त पालिका घोषित हो ।  गत वर्ष असोज ९ बाट १३ गतेसम्मको वर्षात र पहिरोले सन्दकपुरमा करोडौँको सरकारी लगानी माटोमा मिलायो ।
मुख्य सडकका पुल बगायो बन्द भएका सडक जसोतसो खुलाएपनि अहिले पुनः उस्तै बनाएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । गत वर्ष र विपत्तिलाई ल्याउन वर्षातको महिना चै असोज नै हो । गत वर्ष असोज ९ गतेबाट शुरु भई १३ गतेसम्म अधिक वर्षात भएको थियो । वर्षात १६ गतेसम्म धेरै नै परेको थियो । तर अहिले असोज १८ गते रातीको आरिघोप्टे पानीले जनधनको ठुलो क्षति गरेको सन्दकपुर गाउँपालिका–२ का अध्यक्ष सनम राईले बताए ।
गत वर्ष वडा नम्बर ३ बाहेक ४ वटा वडामा ठुलो क्षति भएको थियो । गत वर्ष सबैभन्दा बढी क्षति र पहिरो वडा नम्बर २ मा गएको थियो । यहाँका खोलाहरुमध्ये राते खोलाको पुल पुरै बनाएको थियो । जसका कारण वर्षातमा यातायात संचालनमा असहज भएको थियो । त्यससँगै जमुना–सलुबुङ जोड्ने माईखोलाको पुल, मेवा खोलाको पुल, गिताङ्ग खोलाको पुलमा क्षति भएको थियो ।
गत वर्षको ठुलो जनधनको क्षति भएपछि संघीय सरकारले संकटग्रस्त पालिका घोषणा गरेको थियो । त्यसपछि संघीय सरकारको ५० लाख रुपैयाँ गाउँपालिकालाई बजेट पठाएको थियो । संघीय सरकारको ५० लाख र गाउँपालिकाको १ करोड २० लाख बढी बजेटमा सडक यातायात खुलाएर जनजिवन सामान्य बनाइएको भएपनि अहिलेको बाढी पहिरोले झन ठुलो संकट ल्याएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।
गत वर्ष ११ वटा सिचाई योजना, १ सय ५० वटा बढी खानेपानी आयोजनाका स्कीम, विद्युतका दर्जनौ पोलहरुमा क्षति भएको तथ्याङ्क छ ।  सबैभन्दा बढी क्षति गत वर्ष वडा नम्बर २ मा रहेकोमा अहिले सबै वडामा उत्तिकै क्षति भएको गाउँपालिका विपद् संयोजक रमेश भट्टराईले बताए । विद्युत सुचारु गर्नका लागि स्थानीयबासीको श्रमदान र प्राधिकरणको प्राविधिक सहयोग भएको थियो ।
सडक र पुलहरु मर्मतका लागि संघ र प्रदेश सरकारबाट गत मर्मतमा सहयोग भएपनि अहिले पुनः उस्तै क्षति भएको गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताए ।   चालु आर्थिक वर्षमा भत्किएका संरचना पुनःनिर्माणमा ध्यान केन्द्रित गर्दै आएको गाउँपालिकालाई यस वर्षको विपत्तिले झनै पछि धकेलिदिएको सन्दकपुर–४ का अध्यक्ष ढाल बहादूर गुरुङ्गले बताए । उनी भन्छन्–‘सन्दकपुरमा यस्तै खालको प्रकोप फेरी आइपरे थाम्न सकिदैन होला ।’
गतवर्ष बाढी पहिरोले २० परिवार पूर्ण र ३६ परिवार आंशिक विस्थापित भएका थिए । सार्वजनिक सम्पत्तिमा २० करोड बढीको क्षति थियो भने  कृषि, पशुपालन, खानेपानी र विद्युतमा परेको क्षति अझ धेरै थियो । गत असोज १८ को विपत्तिबाट मानवियसँगै ठुलो धनजनको क्षति भएपछि सन्दकपुरमा पूर्वाधार निर्माणमा पछि परेको वडा नम्बर २ का अध्यक्ष सनम राईले बताए ।
यस वर्ष ५ परिवारका ७ जनाको ज्यान गएको छ । घाइते ५ जना उपचारात्मक अवस्थामा छन् । ३९ परिवार पूर्णरुपमा र २ सय परिवार आसिंक विस्थापितको प्रारम्भिक तथ्याङ्क छ । सडक पूर्णरुपमा बन्द भएको अवस्थामा विस्थापित परिवारलाई राहत वितरणको काम गाउँपालिकाले प्राथमिकता दिएको प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लिम्बुले बताए ।
यस वर्षको विपत्तिबाट ३ सय बढी खानेपानीका स्किम, दर्जनौ सिचाई आयोजना, हजारौँ रोपनी कृषि क्षेत्र, सडक, पुलमा अत्याधिक क्षति भएको गाउँपालिकाको तथ्याङ्क छ । अहिलेपनि तथ्याङ्क संकलनको काम भइरहेको छ र संख्या थपिने क्रम रहेको हो ।  खानेपानीका ३ सय बढी स्कीमहरुमा क्षति पुगेको अवस्था छ गाउँपालिका विपद् संयोजक रमेश भट्टराई भन्छन्–वडा नम्बर ३ मा मात्रै १ सय ५० वटा खानेपानीका स्कीममा पूर्ण क्षति पुगेको छ ।’
बाढी पहिरोले एक वर्ष अघि मात्रै निर्माण सम्पन्न भएका १४ वटा साना सिचाई आयोजना र ३५ वटा बढी पुराना अयोजनामा क्षति पुगेको हो । बाढीले उच्च पहाडी क्षेत्रमा स्थानीयबासीले निर्माण गरेका दर्जनौ काठेपुलहरुमा पूर्णरुपमा क्षति पुगेको छ । बाढी पहिरोले २ हजार रोपनी बढी अलैँची, धान, मकै, कोदो र तरकारी बालीमा क्षती पुगेको प्रारम्भिक तथ्याङ्क   छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार