फिक्कल । असोज १८ र १९ गतेको अविरल वर्षाका कारण भएको विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि विभिन्न स्रोतबाट हालसम्म ११ लाख ६५ हजार भन्दा बढि राहत रकम प्राप्त भएको छ । हालसम्म जम्मा रु. ११ लाख ६५ हजार ३२ रुपैयाँ ११ पैसा संकलन भएको विपद फोकल पर्सन सृजन गदालले जानकारी दिए ।
नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले राहत तथा पुनर्निर्माण कार्यको कार्तिक १ गतेसम्मको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । नगरले दैनिक रुपमा विपद प्रतिकार्यको विवरण सार्वजनिक गर्दै आएको छ ।
नगरपालिकाले विपद् प्रभावित परिवारलाई तत्काल राहत वितरण गरी स्थलगत विवरण संकलन कार्य सम्पन्न गरेको छ । स्थानीय सडक मर्मत र सुचारु गर्न, विद्युतीय सेवा पुनः सञ्चालनका लागि हेभिइक्युपमेन्ट मेसिन र जनशक्ति परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।
वडा नं १२ स्थित साउनेगैरा र रमिते चप्लेटिढुँगामा फोहोरमैला व्यवस्थापनको कार्य भइरहेको छ । विपद् पोर्टलमा अस्थायी आवास निर्माणका लागि लाभग्राहीहरुको विवरण प्रविष्ट गर्ने कार्य सम्पन्न भएर घरवार गुमाएका परिवारका लागि आवास निर्माण र दीर्घकालीन पुनर्निर्माण योजना तयार पार्ने कार्य भइरहेको बताइएको छ ।
