इलाम । गत भदौ २३ र २४ गते भएको जेन–जी क्रममा देशभर चर्किएको प्रदर्शनपछि भएको क्षतिको बारेमा नेपाली सेनाले विवरण सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनको आयोजना गरेर सेना परिचाल र भौतिक तथा मानविय क्षतिको बारेमा आफ्नो धारणा सार्वजनिक गरेको हो । देशका विभिन्न ठाउँमा तोडफोड, आगलागी र भिडन्तका घटना बढ्दै गएपछि सेनाले संवेदनशील संरचनाहरूलाई सुरक्षित राख्दै उद्धार तथा नियन्त्रणमा सक्रिय भूमिका खेलेको जनाएको छ ।
सेनाले सार्वजनिक गरेको तथ्यांक अनुसार उपत्यकाका ६२ वटा महत्वपूर्ण संरचनामा १ हजार ६ सय २८ जना सुरक्षाकर्मी तैनाथ गरिएको थियो । ती संरचनामा कारागार, विमानस्थल, प्रशासनिक निकाय, अदालत, परीक्षा बोर्डदेखि लिएर दूतावास र कन्सुलेटसम्म समावेश छन् । आन्दोलनका क्रममा जोखिम बढेपछि ती स्थानहरूमा बलियो सुरक्षा घेरा निर्माण गरिएको सेनाले जनाएको छ।
आन्दोलनका क्रममा आगलागी र तोडफोडका जोखिमलाई मध्यनजर गर्दै सेनाले २५ स्थानमा दमकल र जनशक्ति परिचालन गरेको जनाएको छ । नेपाली सेनाका ३, काठमाण्डौ महानगरको ४, ललितपुरको २, दक्षिणकाली नगरपालिकाको १ र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको १ गरी ११ वटा दमकल परिचालन भएका थिए । सिंहदरबारको पश्चिम प्रवेशद्धारमा भदौ २३ गते साढे १ बजेबाट आगलागी नियन्त्रण सुरु गरिएको सेनाले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

सेनाले ६१ जना अति विशिष्ट र विशिष्ट तथा २३ जना नेपाल प्रहरीलाई हवाई उद्धार गरेको थियो । जमिनबाट १२९ को उद्धार गरेको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जानकारी दिए । भदौ २३ र २४ गते देशभर ४८४ स्थानमा प्रदर्शन भएका थिए । ती प्रदर्शन तथा झडपका क्रममा ७६ जनाको ज्यान गएको छ ।
सेनाले सार्वजनिक गरेको विवरण अनुसार मृत्यु हुनेमध्ये २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० जना कैदी तथा अन्य नागरिक ४१ जना समावेश छन् । यस्तै १५ हजार ५ सय ८८ फरार कैदी मध्ये हालसम्म ८ हजार ७ सय ९९ जना कारागारमा फिर्ता ल्याइएको छ । प्रर्दशनका क्रममा हराएका र लुटिएका ९७८ मध्ये ५८६ हतियार फिर्ता ल्याइएको छ ।
आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनामा व्यापक क्षति पुगेको पनि सेनाले जनाएको छ । ६८८ सरकारी कार्यालय, २५९ नीजि घर, १२८ व्यपारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा क्षति पुगेको छ ।