फिक्कल : बाढीपहिरो प्रभावित इलामको माईजोगमाई गाउँपालिकाको वडा नं। ६ प्याङका घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको छ । पहिरोका कारण सडक अवरुद्ध भई प्राथामिक स्वास्थ्य केन्द्र सम्म आउन बिरामीलाई असहज भएपछि स्वाथ्यकर्मी घर–घरमा गएर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएका हुन् ।
प्राथामिक स्वास्थ्य केन्द्र प्याङ्गका प्रमुख डा अभिषेक देव ठकुरीको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको समुहले बिहिबार प्रभावित क्षेत्रका बासिन्दाका घरमै गएर १०० बढी जेष्ठ नागरिकलाई सेवा दिइएको छ । शुक्रबार पनि घरमै गएर जेष्ठ नागरिक, अशक्त र वालबालिकालाई सेवा दिइने डा। ठकुरीले जानकारी दिए ।

डा ठकुरी संगै अहेब फुर्लमु शेर्पा, निराजन ढुङ्गेल, गोपाल गौतम , अनमी बिनिता लावती, जेनिशा राई र ल्याव असिस्टेन्ट दिप्ली राई सहितको टोली साबिक प्याङ्ग २ मा गई पहिरो पिडितको घरमा र सम्पुर्ण बिरामीको घर–घरमा गई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराई जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।

पहिरो पिडित भक्त बहादुर थेबेलाई प्राथमिक स्वास्थ्य केन्द्र प्याङ्गका सम्पूर्ण कर्मचारी परिवारबाट पाँच हजार आर्थिक सहयोग गरिएको छ । कार्यालयले आज साबिक वडा नं ४ मा गई सेवा सञ्चालन गर्ने जनाएको छ । असोज १८ को बाढी पहिरोमा परी प्याङमा दुई परिवारका ८ जनाको मृत्यु भएको थियो ।