फिक्कल । गत असोज १८ गतेको अविरल वर्षाले इलामका विभिन्न स्थानमा पुल र सडकमा ठूलो क्षति पु¥याएको थियो । त्यही क्षतिपछि बुधबार कोशी प्रदेशका मन्त्री, प्रदेश सांसद तथा सम्बन्धित निकायका प्राविधिक टोलीले सूर्योदय नगरपालिकामा क्षतिग्रस्त पूर्वाधारको स्थलगत अनुगमन गरेका छन् ।
अनुगमन टोलीमा भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री राम बहादुर मगर, आन्तरिक मामिला तथा कानुनी मन्त्री रेवती रमण भण्डारी, प्रदेश सांसद एवम नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापा, कोशी प्रदेश सुशासन तथा योजना समितिकी सभापति खगेश्वरी पौडेल सहित प्रदेश सांसद एवम् पूर्व मन्त्री खिनु लङ्वा, नगर प्रमुख रण बहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल तथा प्रदेश सरकारका प्राविधिक प्रतिनिधिहरू सहभागी थिए ।
सडक तथा पुल निर्माणका जिम्मेवार निकायका तर्फबाट इलाम र झापास्थित पूर्वाधार कार्यालयका इन्जिनियरहरू र प्रादेशिक सडक पूर्वाधार महाशाखाका प्रमुख रमेश कुमार श्रेष्ठ समेत अनुगमन टोलीमा सहभागी भएका थिए । अनुगमन टोलीले विशेष गरी मैँयू खोलाको पुल र फिक्कल–नयाँबजार सडक खण्डको अवस्थाबारे अवलोकन गरेको थियो ।
साथै बाढी र पहिरोले क्षति पु¥याएको फिक्कल खानेपानी योजना समेतको निरीक्षण गरिएको थियो । अनुगमन गर्दै कोशी प्रदेश सरकारको लगानीमा बनेको सूर्योदय नगरपालिका र माईजोगमाई जोड्ने सडक ४ दिनभित्र सञ्चालनमा ल्याइने प्रतिबद्धता समेत मन्त्रीहरूले जनाएका छन् । मैँयू खोलाको पुल र कालोपत्रे सडक पहिराले क्षति पुगेपछि माईजोगमाई र सूर्योदयका बासिन्दाहरुको दैनिकीमा समस्या पर्दै आएको थियो ।
स्थानीय किसानको उत्पादनले बजार पु¥याउन सकेका छैनन् । यस्तै भारतको मिरिकको पहिरोमा परी ज्यान गुमाएकी सूर्योदय नगरपालिका–९ की सतमा लामाको परिवारलाई मन्त्री तथा सांसदहरूले घरमै पुगेर भेटघाट गरी शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए । प्रदेश सरकारले क्षतिग्रस्त संरचनाको तत्काल मर्मत गरी यातायात पुनः सुचारु गर्न प्राथमिकताका साथ काम अघि बढाउने जनाएको छ ।
