Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाल र भियतनामबीचको फुटबल यात्राः दुई दशकदेखि जितविहीन संघर्ष

नेपाल र भियतनामबीचको फुटबल यात्राः दुई दशकदेखि जितविहीन संघर्ष

  • नमीन ढकाल
  • बिहिबार, असोज २३ २०८२


नेपाल र भियतनामबीचको फुटबल यात्राः दुई दशकदेखि जितविहीन संघर्ष

इलाम । . एएफसी एसियन कप छनोटअन्तर्गत बिहीबार हुने नेपाल र भियतनामबीचको खेललाई नेपाली फुटबलप्रेमीले विशेष उत्साहका साथ हेरिरहेका छन् । भियतनामको हो चि मिन्ह सहरको गो डाउ रंगशालामा ६ :१५ बजे नेपालले घरेलु टिमको सामना गर्दैछ ।

नेपालको लागि भियतनाम नयाँ प्रतिद्धन्द्धी हैन् । तेश्रो पटक २ टोली आमने सामने हुँदैछन् । तर वर्तमान राष्ट्रिय टिमका खेलाडीको लागि भने भियतनाम नयाँ प्रतिद्धन्द्धी हो । नेपाली राष्ट्रिय टिमका सबै भन्दा सिनियर खेलाडी कप्तान किरणकुमार लिम्बु राष्ट्रिय टिममा डेव्यु गर्नुभन्दा ५ बर्ष अघि नेपालले अन्तिम पटक भियतनाम विरुद्ध खेलेको थियो । इतिहास फर्केर हेर्दा, यी दुई टिमबीचको भिडन्त नेपालका लागि कहिल्यै सजिलो रहेको छैन ।

नेपाल र भियतनामबीच पहिलो भेट सन् २००३ सेप्टेम्बर २७ मा दक्षिण कोरियाको इन्चोङमा भएको थियो । एएफसी एसियन कप २००४ को छनौट अन्र्तगत नेपाल र भियतनाम पहिलो पटक आमने सामने भएका थिए । त्यो खेलमा भियतनामले नेपालमाथि ५–० को ठुलो जित हात पारेको थियो ।

केही महिनापछि, २००३ अक्टोबर २१ मा सुल्तान काबुस स्पोट्र्स कम्प्लेक्समा भएको दोस्रो भिडन्तमा पनि नेपालले सुधार गर्न सकेन । त्यो खेलमा पनि भियतनामले २–० ले नेपाललाई पराजित ग¥यो । त्यसपछि यी दुई देशबीच पुरुष फुटबलमा कुनै आधिकारिक अन्तर्राष्ट्रिय खेल भएको छैन । त्यसैले भियतनामविरुद्धको नेपालको जितको खोज अहिले पनि अधुरै छ ।

भियतनाम पछिल्ला वर्षहरूमा एशियाली फुटबलमा उत्कृष्ट प्रगति गर्दै आएको छ । उसको विश्व वरियता उच्च स्तरमा पुगेको छ । भियतनाम दक्षिणपूर्वी एशियामा लगातार शीर्ष स्थानमा रहँदै आएको छ । नेपाल भने अझै पनि पुनःनिर्माण र युवा खेलाडी विकासको यात्रामा छ ।

फिफाको वरियतामा भियतनाम ११४ औ स्थानमा रहँदा नेपाल भने १७६ औ स्थानमा छ । सन् २०२५ मा खेलेको ५ खेल मध्ये एकमा मात्र भियतनाम पराजित भएको छ । हालको अवस्थामा, नेपालका मुख्य प्रशिक्षक म्याट रस् र कप्तान किरणकुमार लिम्बुले भियतनामजस्तो बलियो प्रतिद्वन्द्वीविरुद्ध राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन् ।

मुख्य प्रशिक्षक रोस र खेलाडीहरूले घरेलु मैदानमा खेल्न नपाउनु ठूलो बेफाइदा भएको तर्क गर्दै आएका छन् । दशरथ रंगशाला अन्तराष्ट्रिय खेलका लागि अयोग्य भएपछि नेपालले हालसम्म मलेसिया र लाओसविरुद्धका खेल बाहिर खेलेको थियो ।

कप्तान किरण कुमार लिम्बुले टोलीले भियतनामविरुद्ध सकारात्मक नतिजा लिएर फर्किने विश्वास व्यक्त गरेका छन् । “यो अवसरका लागि पूरै टोलीले तयारी गरिरहेको छ,” उनले भने, “मलाई थाहा छ भियतनामी आक्रमणकर्ताहरू निकै उत्कृष्ट छन्, तर हामीले खेलमा उत्कृष्ट प्रदर्शन गर्न हाम्रा सबै प्रयास गर्नेछौं ।”

नेपालविरुद्धको खेलअघि भियतनामका मुख्य प्रशिक्षक किम साङ–सिकले प्रि–म्याच कन्फ्रेन्समा भने “भिडियो विश्लेषणमार्फत हामीले पत्ता लगाएका छौं कि नेपालको जर्सी नं ७ (जिलेस्पी जंग कार्की) र १४ (अञ्जन विष्ट) खेलाडी निकै खतरनाक छन् । घरेलु मैदानमा हामी पछि हट्ने छैनौं । एकजुट भएर जितका लागि पूर्ण प्रतिबद्ध रहन्छौं । हाम्रो एकमात्र लक्ष्य जित नै हो ।” किमले थपे, “भियतनामको टोलीमा अनुभवी खेलाडीहरूसँगै यू–२३ टोलीका केही युवा खेलाडीहरू पनि रहेका छन्, जसले टोलीलाई सन्तुलित बनाएको छ ।”

हाल नेपाल मलेसिया र लाओस रहेको समूहको तालिकाको पुछारमा छ । नेपालले अघिल्ला दुई खेलमा लगातार हार बेहोरेको छ । मार्च २५ मा मलेसियासँग २–० र जुन १० मा लाओससँग २–३ ले पराजित भएको थियो । दुई दशकअघि हारको इतिहास बोकेर मैदानमा उत्रिँदै गरेको नेपाल अब नयाँ रणनीति र जोशका साथ भियतनामलाई चुनौती दिन तयार देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार