फिक्कल । असोज १८ र १९ गतेको भीषण वर्षा र पहिरोले ठूलो क्षति पुर्याएपछि सन्दकपुर गाउँपालिकाले विपद् पीडितहरूलाई राहत वितरण कार्य सुरु गरेको छ। राहत अभियानको पहिलो चरणमा वडा नम्बर ३ का शारदा सेढाई र तारादेवी सेढाईको परिवारलाई तीन लाख रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिएको छ। ती दुवै जनाको घर भीषण वर्षाले बगाउँदा मृत्यु भएको थियो।
पालिका अध्यक्षको नेतृत्वमा राहत वितरण टोलीले वडा नम्बर ४ माबु पुगेर पीडित परिवारसँग भेटघाट गरेको छ। सो क्रममा दुई परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ भने भोलि वडा नम्बर १ का पीडित परिवारलाई पनि राहत वितरण गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ।
यस्तै, वडा नम्बर ५ मा एकजनाको मृत्यु भएको पुष्टि भएकाले राहत रकमको व्यवस्था तत्काल गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले जानकारी दिए।
साथै, बीएन्डसी अस्पताल झापामा उपचाररत घाइतेहरूको निःशुल्क उपचारका लागि समन्वय गरिएको गाउँपालिकाले जानकारी दिएको छ।
गाउँपालिकाका अनुसार सबै वडामा राहत वितरण तथा क्षतिको तथ्यांक संकलन अन्तिम चरणमा पुगेको छ। गाउँपालिकाले राहत वितरणसँगै सडक मर्मत र पुनःनिर्माण कार्य पनि सुरु गरेको जनाएको छ।
यद्यपि, इन्धनको अभाव र स्काभेटर–जेसिबी नपाइने समस्याका कारण केही स्थानमा राहत र मर्मत कार्यमा ढिलाइ भएको पालिकाले जनाएको छ।
विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा समन्वयमा कठिनाइ भइरहे पनि गाउँपालिकाले स्थानीय जनप्रतिनिधि र कर्मचारीमार्फत राहत कार्यलाई निरन्तरता दिइरहेको छ।
गाउँपालिकाले सम्पूर्ण नागरिक, निर्माण व्यवसायी र संघ–संस्थालाई विपद् व्यवस्थापनमा सहकार्य र सहयोगका लागि अनुरोध गरेको छ।