- इलाम जिल्लामा बाढीपहिरोका कारण अवरुद्ध भएको विद्युत् सेवा ३६ घण्टापछि पुनः सुचारु भएको छ।
- बाढीले इलामका अधिकांश क्षेत्रमा क्षति पुर्याएको थियो, जसमा प्रसारण लाइन र स्थानीय वितरण सञ्जालमा ठूलो असर परेको थियो।
- ३ प्रदेशका १० जिल्लामा ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन्, जसमध्ये इलामका १५ वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ।
इलाम । बाढी र पहिरोले इलाम जिल्लामा अवरुद्ध भएको विद्युत् सेवा ३६ घण्टापछि सुचारु भएको छ । नेपाल विद्युत् प्राधिकरण, इलाम वितरण केन्द्रका प्रमुख बिजुली प्रसाद यादवले निरन्तरको प्रयासपछि ३६ घण्टामै इलाम बजारमा बिजुली बाल्न सफल भएको बताए ।
क्षतिग्रस्त लाइन मर्मत गरी ३६ घण्टामा बजार क्षेत्रमा सोमबार दिउँसो २ बजेदेखि विद्युत् आपूर्ति नियमित भएको उनको भनाइ छ । वितरण केन्द्रले दोलाबारीस्थित पुरानो सर्किटमार्फत वैकल्पिक व्यवस्था मिलाएको उनले बताए ।
वितरण केन्द्र प्रमुख यादवका अनुसार काबेली करिडोर प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । इलाम जिल्लामा बिहीबार राति ११ बजेदेखि विद्युत् अवरुद्ध भएको थियो ।
ग्रामीण क्षेत्रमा ११ हजार भोल्टका लाइनहरूमा भएको व्यापक क्षति र ठाउँ–ठाउँमा पोल तथा ट्रान्सफर्मर ढलेका कारण पूर्ण रूपमा विद्युत् आपूर्ति गर्न अझै समय लाग्नेछ ।
प्राधिकरणले क्षति मर्मतका लागि छुट्टाछुट्टै टोली परिचालन गरेको छ र चरणबद्ध रूपमा काम अघि बढाउने बताएको छ । इलाम वितरण केन्द्रले अब जिल्लाभित्रै वितरण प्रणालीलाई व्यवस्थित गर्दै जाने जनाएको छ ।
वितरण केन्द्र प्रमुख यादवका अनुसार बाढीले प्रमुख प्रसारण लाइन र स्थानीय वितरण सञ्जालमा ठुलो क्षति पुर्याएपछि इलामका अधिकांश क्षेत्र अन्धकारमय बनेका थिए । बाढीले काबेली करिडोरको १३२ केभी प्रसारण लाइनको टावर ढालिदिएको थियो भने काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि प्रभावित भएको थियो ।
यसबाहेक, ११ हजार भोल्टका धेरै पोल ढलेका छन् र ट्रान्सफर्मरहरू पनि क्षतिग्रस्त भएका छन् । जसले गर्दा पूरै जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो ।
बाढीले झापाको पाडाजुुंगीबाट इलामतर्फ ल्याइएको काबेली कोरिडोरका दुुई वटा विद्युत् टावरमा बाढीले क्षति पुुगेपछि इलाममा विद्युत् सेवा अवरुद्ध भएको थियो । १३२ केभी प्रसारण लाइन जोडिएको ३४ तथा ३५ नम्बरको टावरबाट तार झरेको र पाँचथरको थापाटारबाट फिदिम आउने १३२ केभी प्रसारण लाइनमा पनि फल्ट देखिएकाले विद्युत् अवरुद्ध भएको थियो ।
झापाबाट इलाम आउने मुख्य लाइनमै समस्या भएपछि अहिले पुरानो प्रसारण लाइन मर्मत गरी बजार क्षेत्रमा विद्युत् सुचारु गरिएको हो ।
इलाममा मात्रै १६ आयोजनामा क्षति
दुई दिनसम्मको भारी वर्षाका कारण ३ प्रदेशका १० जिल्लामा ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले दिएको जानकारी अनुसार सोमबार दिउँसोसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन् ।
यो वर्ष समयमै आवश्यक पूर्वतयारी गर्दा यसपटक भारी वर्षाको तुलनामा जलविद्युत आयोजनाहरूमा निकै कममात्र भौतिक क्षति भएको पनि इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।
बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको कोशी प्रदेशको इलाम जिल्लामा जलविद्युत् आयोजनाहरू पनि सबैभन्दा धेरै प्रभावित भएका छन् । इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । जसमा ४.५ मेगावाटको माईखोला, ८ मेगावाटको माईखोला क्यासकेड, २२ मेगावाटको माईखोला (सानिमा माई), ७ मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई ए क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९।५ मेगावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई सी क्यासकेड, ४.९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा १ जलविद्युत् आयोजना इलाम जिल्लाका छन् ।
बाँकी दुई आयोजनामध्ये कोशी प्रदेशकै पाँचथर जिल्लामा रहेको १४.९ मेगावाटको हेवाखोला र बागमती प्रदेशमा रहेको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत् आयोजना प्रभावित भएका छन् । हाल लिखु बाहेक सबै आयोजनाको उत्पादन बन्द छ । लिखु ४ को भने १ घण्टाभन्दा केही बढी समयमात्र उत्पादन बन्द भएको थियो ।
निर्माणाधीन आयोजनाको धेरै क्षति पहुँचमार्गमा
निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा सबैभन्दा धेरै क्षति पहुँचमार्गमा देखिएको छ । मनाङमा रहेको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत् आयोजनाले बनाएको १२ किलोमिटर पहुँचसडकको धेरै ठाउँमा पहिरो गएको प्रवर्द्धक कम्पनी लालुपाते हाइड्रोपावरका सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिए ।
निर्माणाधीन अवस्थामा रहेका आयोजनामध्ये सिद्धि हाइड्रोपावरद्वारा प्रवर्द्धित इलाममा रहेको १० मेगावाटको सिद्धिखोला जलविद्युत् आयोजना १० दिनभित्र व्यावसायिक उत्पादनमा जाने तयारीमा रहेकोमा बाढीले क्षति पुर्याउँदा यसको विद्युत् उत्पादन मिति पर सरेको छ ।
पाँचथरमा रहेको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजनाको निर्माण सामाग्री र निर्माण उपकरणहरू नै बगाएको छ ।
सिन्धुपाल्चोकमा रहेका ४ जलविद्युत् आयोजनाको पहुँचमार्ग पनि बाढीले बगाएको छ । जसमा ३६.५१ मेगावाटको ब्रह्मायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रह्मायणी, ४० मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी जलविद्युत् आयोजनाको पहुँचमार्ग बाढीले बगाएको छ ।