इलाम । अविरल वर्षाका कारण गएको पहिरोमा परि इलाममा सर्वाधिक मानविय र धनजनको क्षति भएको छ । गएराती ३ सय २२ मिलिमिटरसम्म वर्षात भएपछि इलामका ग्रामीण क्षेत्रका बसोबास गर्ने ३७ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । भने ८ जना घाइते भएका हुन् । इलामका १० स्थानीय तहमध्ये ७ स्थानीय तहमा वर्षातपछिको पहिरोले मानविय क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामको तथ्याङ्कमा नगरपालिकामध्ये सुर्योदयमा ५, इलाम नगरपालिकामा मा ६ जना र देउमाई नगरपालिकामा ८ जनाको मृत्यु भएको हो । अविरल वर्षाका कारण गाउँपालिकामध्ये सन्दकपुरमा ६ जना, माईजोगमाईमा ८ जना, माङ्सेबुङ्गमा ३ जना र फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको हो ।
बेपत्ता मध्ये इलाम नगरपालिकाका १ जना रहेका छन् । घाइते हुनेमा सन्दकपुर गाउँपालिकाका ५ जना र माङ्सेबुङ्ग गाउँपालिकाका ३ जना रहेका छन् । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार अहिले २० जनामध्ये ८ जना सामान्य उपचारपछि घर फर्किएका छन् । घाइतेमध्ये ३ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । अन्यको स्थानीय स्वास्थ्य संस्था र अस्पतालमा उपचार भइरहेको छ । सन्दकपुर गाउँपालिकामा मौसम राम्रो नभएका कारण पैदल यात्राबाट थप उपचारका लागि सदरमुकाम ल्याउने काम भइरहेको छ ।
३ सय २२ मिलिमिटर वर्षात भएको इलामका सबै क्षेत्रमा २ सय मिलिमिटर बढी वर्षात भएको थियो । जिल्लाको कन्याम र माईपोखरी क्षेत्रमा २ सय ७६ मिलिमिटर पानी परेको तथ्याङ्क छ । जसका कारण इलामका मुख्य नदि माई, देउमाई र पुवाखोला क्षेत्रमा जल सतह अत्याधिक बढेको थियो ।
वर्षातका काराण झापाबाट पूर्वी पहाडी जिल्ला जोड्ने मेची राजमार्गको माईखोला, चुरेघाटे बिब्ल्याटे र पाँचथरको राँके पौवाभञ्ज्याङ्ग क्षेत्रमा ठुलो पोहिरो गएको छ । जसका कारण मेचीराजमार्ग पुरै संचालनमा ल्याउन मौसम सफा भए ४ दिन लाग्नेछ ।
वर्षातपछि खोलाको जलसतह बढ्दा केचना कंचनजंघा सडकमा पर्ने इलामको माईखोलामा रहेको बेलासेको पुल भाचिएको छ भने, पुवाखोलाको बेलिब्रिज, देउमाई खोलाको पुल र बेलिब्रिज पूर्ण रुपमा क्षति पुगेको सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख पवन भट्टराईले बताए ं।
वर्षातपछिको पहिरोको कारण इलामसँगै पाँचथर र ताप्लेजुङमा विद्युत सेवा ठप्प भएको छ । १ सय ३२ केभि प्रशारण लाइनको काबेली कोरिडोरमा पर्ने २ वटा टावरमा क्षति पुगेको छ भने ३३ केभि प्रशारण लाइनमा पनि ठुलो क्षति पुगेका कारण पूर्वी पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध छ ।
दैविकप्रकोप उद्धार समितिको बैठकले राजमार्गमा पहिरोले ठुलो क्षति गरेकाले अझै १ दिन यातायात संचालन नगर्ने निर्णय गरेको छ भने क्षतिको विवरण संकलन गर्न तिब्रता दिने प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । उनले भोली मेची राजमार्ग र माईखोलाको पुलको अनुगमन गरिने बताइन् । स्थानीय पालिकामा राहत रकम पठाइने बताउँदै स्थानीय तहका जनप्रतिनिधि र लेखा प्रमुखहरुसंग समन्वय भएको जानकारी दिइन् ।