Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

आकर्षक चौँरी पर्यटनको माध्यम (तस्बिरहरु) 

आकर्षक चौँरी पर्यटनको माध्यम (तस्बिरहरु) 

  • सुजन तिमल्सिना
  • शुक्रबार, असोज १७ २०८२


आकर्षक चौँरी पर्यटनको माध्यम (तस्बिरहरु) 
इलाम । पूर्वी पहाडी जिल्लामा चौरीपालन व्यवसाय जीविकोपार्जनको माध्यमसँगै उच्च पहाडको पहिचान र परम्परा थियो । तर अहिले यसलाई पर्यटनसँग जोड्न थालिएपछि  चौंरीपालन पर्यटक तान्ने माध्यम बनेको छ । चौरी पूर्वी पहाडका किसानको आम्दानी मात्रै होइन लेकाली फाँटमा पर्यटकको चहलपहलसमेत बढाउने माध्यम भएको छ । पोषिलो दूध दिने चौंरी यहाँको पर्याय हो । चौरी हेर्दा आकर्षक देखिन्छ । ठूलो शरीर, लामा र तिखा सिङ, लामा रौं भएको चौंरी हेर्दा निकै आकर्षक देखिने भएकाले अहिले चौँरीको माध्यमबाट पर्यटन प्रवद्र्धन हुने थालेको छ ।
चौंरीबिना पहाड र हिमालको सौँदर्य नै हराएको मानिन्छ । सोहि कारण सरकारी र गैरसकारी संस्थाले पूर्वी नेपालको इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लाका उच्च पहाडी र हिमाली क्षेत्रमा चौँरी गोठ व्यवस्थित गर्दै आएका छन् । फराकीला फाँटा र डाँडामा चौरी चरेको देख्दा पर्यटकहरु रमाउने गरेको पाँचथर फालेलुङ गाउँपालिकाका डिल्लि केरुङले बताए ।
चौंरी हेर्न र यसको जीवनचक्रका बारेमा बुझ्न विदेशी पर्यटक समेत अहिले इलाम, पाँचथर र ताप्लेजुङ्गका उच्च पहाडी क्षेत्रमा पुग्ने गरेका छन् । पर्यटकहरु नेपाल र भारतको सीमा क्षेत्र मानेभञ्ज्याङ्गबाट इलामको सन्दकपुर, पाँचथरको फालोटहुँदै ताप्लेजुङसम्म पदयात्रा गर्दै आएका छन् । पर्यटकहरु चौँरीका गोठहरुमा बस्नका लागि गोठस्टे संचालन भएका छन् । जसका कारण कृषकको आम्दानी पनि बढेको चौंरी कृषक महासंघ नेपालका चन्द्र नेपालले बताए ।
चौंरी पालनबाट किसानले घिउ, छुर्पी, चीज र चौरीको चमर (पुच्छर) बिक्री गरेर आम्दानी लिने गरेका छन् । चौंरी हेरबापत पर्यटकले छुट्टै पैसा तिर्दैनन् तर, उनीहरू आउँदा गोठमा खाने, बस्ने र रमाइलो गर्ने भएकाले किसानको आम्दानी थप बढेको हो । चौँरीको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न पाँचथरको फालेलुङ गाउँपालिकाको चाररातेमा हरेक वर्ष चौरी महोत्सव हुँदै आएको छ  ।
थप तस्बिरहरु :

प्रतिक्रिया
सम्बन्धित समाचार