Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

‘अञ्जिला’ र ‘गुन्यु चोलो’ ले गरे ओस्कार अवार्डमा नेपालबाट आवेदन

‘अञ्जिला’ र ‘गुन्यु चोलो’ ले गरे ओस्कार अवार्डमा नेपालबाट आवेदन

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज ४ २०८२


‘अञ्जिला’ र ‘गुन्यु चोलो’ ले गरे ओस्कार अवार्डमा नेपालबाट आवेदन

इलाम । ९८ औँ संस्करणको एकेडेमी (ओस्कार) अवार्डमा यो वर्षको लागि दुई वटा मात्र नेपाली चलचित्रको आवेदन परेको छ । संयुक्त राज्य अमेरिकाको विश्व प्रसिद्ध ओस्कार अवार्डको यो संस्करण आउँदो १५ मार्च, २०२६ मा अमेरिकाको लस–एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुँदैछ ।

यो अवार्डमा विदेश संस्करणका लागि नेपालबाट मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ र समुन्द्र भट्ट निर्देशित चलचित्र ‘गुन्यु चोलो’ ले मात्र सहभागिताको लागि आवेदन दिएका छन् । आफूहरूले सबैतिर यो अवार्डमा सहभागिताको लागि सूचना पठाएर जानकारी गराएको भए पनि यस पटक निर्धारित समय भित्र दुई वटा नेपाली चलचित्रको मात्र आवेदन परेको छनौट समितिको सदस्य जीवन पराजुलीले बताए ।

उनले भने, ‘हामीले निकालेको सूचना अनुसार यस पटकको लागि आगामी ओस्कार अवार्डमा नेपालको प्रतिनिधित्व गर्न अञ्जिला र गुन्यु चोलोको मात्र आवेदन प¥यो । यदि छनौट टिमलाई उपयुक्त लाग्यो भने यो दुई मध्य एकलाई ओस्कार अवार्डमा पठाउने छौँ ।’

छनौट टिमलाई यी दुवै चलचित्र उपयुक्त नलागेको खण्डमा कुनैलाई पनि नपठाउने पनि पराजुलीले बताए । ओस्कारका लागि नेपाली चलचित्र चयन समितिको संयोजकमा निर्देशक विमल अधिकारी छन् । यो समितिको सदस्यहरुमा मञ्जु कुमार श्रेष्ठ, लोकेन्द्र पराजुली (कपिल), गौतम धिमाल, जीवन पराजुली र चिरञ्जीवी गुरागाईँ छन् ।

यो समितिको अब बस्ने बैठकले दुवै चलचित्र हेर्ने छ । उपयुक्त लागेको खण्डमा एउटा चलचित्रलाई चयन गरेर सेप्टेम्बर महिना भरीमा ९८ औँ संस्करणको एकेडेमी ९ओस्कार० अवार्डका लागि नेपालबाट आधिकारिक रूपमा पठाउने छ ।

यी दुई चलचित्र मध्य मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ गत वर्षको व्यावसायिक सफल चलचित्र हो । यो चलचित्रले सफल प्रदर्शनीको १०० दिन समेत मनाएको थियो । नेपाली फुटबल टिमकी राष्ट्रिय गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा यो चलचित्र आधारित थियो । जसमा एन्जिलासँगै दयाहाङ राई, विजय बराल, सृजना सुब्बालगायतको मुख्य भूमिका थियो ।

यस्तै गत साता रिलिज भएको चलचित्र ‘गुन्यु चोलो’ बक्स अफिसमा असफल भएको छ । यो चलचित्र तेस्रो लिंगीको संघर्ष कथामा आधारित छ । ओस्कारकै लागि लक्षित गरेर यो चलचित्र प्रचार प्रसार बिना नै गत साता रिलिज गरिएको छ । रिलिज नभएको चलचित्रले ओस्कारमा भाग लिन नपाउने प्रावधान रहेको छ । यो चलचित्रमा नाजिर हुसेन, विशाल पहारी, हिउँवाला गौतमलगायतको अभिनय छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार