इलाम : इलाममा सुरु भएको जेनजी आन्दोलनले स्थानीय प्रशासन, सरकारी सेवा र राजनीतिक कार्यालयमा ठूलो अवरोध ल्याएको छ । सरसफाई र क्षति मूल्यांकनको काम जारी रहेकाले तत्काल सेवा प्रवाहमा समस्या भए पनि सम्बन्धित निकायहरूले वैकल्पिक उपायमार्फत सेवा दिन पहल थालेका छन् ।
इलाममा सवैभन्दा बढि क्षति इलाम नगरपालिकामा भएको छ । सदरमुकाम समेत रहेको नगरपालिकाको भवन, फर्निचर कार्यालयको उपकरणमा क्षति पुगेको छ । इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालका अनुसार हालसम्म क्षतिको विस्तृत मूल्यांकन भइरहेको छ । उनका अनुसार भवन र सामग्रीमा क्षति पुगेको छ भने डकुमेन्टहरूको स्थिति अलग्गै मूल्यांकन गर्नुपर्ने हुन्छ ।
“वडा कार्यालयमा भने कुनै क्षति छैन । आम नगरबासीको सहजताका लागि अस्थायी रूपमा सेवा प्रवाह वडाबाट गर्ने तयारी भइरहेको छ,” उनले भने । दुलालका अनुसार नगर पूर्ण रूपमा सामान्य हुन कम्तीमा एक महिना लाग्न सक्छ । इलामको सूर्योदय नगरपालिकामा जेनजीको प्रर्दशन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । विना क्षति कार्यक्रम गरिएको छ ।
सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत राईले अत्यावश्यक सेवा अझै पनि निरन्तर जारी रहेको जानकारी दिए । उनका अनुसार हालसम्म सेवाग्राही कार्यालयमा आएका छैनन् तर नगर र वडा दुवैतिरबाट नियमित सेवा प्रवाह भइरहेको छ । इलाम नगरपालिकापछि सवैभन्दा बढि क्षति भोग्ने स्थानीय तहमा माई नगरपालिका रहेको छ ।
झापासंग करिब १० किलोमिटर दुरीमा रहेको पािलकाको कार्यालय र वडामा क्षति पुगेको छ । माई नगरपालिकाका लेखा अधिकृत अशोक कट्ट्लका अनुसार वडा नं. ६ बाहेक सबै वडामा क्षति पुगेको छ । मेयरको कार्यकक्ष पूर्ण रूपमा जलेर नष्ट भएको छ भने कम्प्युटर, डेस्कटप लगायत महत्वपूर्ण सामग्रीमा क्षति पुगेको छ ।
उनका अनुसार “कार्यालय र वडाबाट सेवा दिने तयारी त भइरहेको छ तर तत्काल सेवा प्रवाह गर्न सक्ने अवस्था छैन ।” माईजोगमाई गाउँपालिकामा भौतिक क्षति हुन पाएन् । अध्यक्ष कुश बहादुर थेवेले पालिकामा कुनै क्षति नभएको र सेवा प्रवाह निरन्तर भइरहेको जानकारी दिए । त्यस्तै, माङसेबुङ गाउँपालिकाका लेखा अधिकृत प्रशान्त खतिवडाका अनुसार भौतिक क्षति नभए पनि केन्द्रीय सर्वर नचल्दा पञ्जीकरण, भुक्तानी लगायतका कार्य रोकिएका छन् ।
उनले भने, “सामान्य र अत्यावश्यक सेवा भने निरन्तर दिइरहेका छौं ।” देउमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि दाहालले आन्दोलनकारीहरूले प्रधानमन्त्री र राष्ट्रपतिको फोटो जलाएको जानकारी दिए । उनका अनुसार प्रहरी र आन्दोलनकारीबीच समन्वय गरी सेवा प्रवाह गर्ने तयारी भइरहेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार काम अघि बढाइने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा उल्लेख्य क्षति भएपनि सिमाना जोडिएको इलामको चुलाचुलीमा कुनै पनि क्षति भएन् । चुलाचुली गाउँपालिका–५ का वडाध्यक्ष बविन राईले पालिका र मातहतका कार्यालयमा कुनै क्षति नभएको स्पष्ट पारे । तर वातावरण सहज नभएकाले अस्थायी रूपमा सूचना जारी गरिएको र सर्वदलीय छलफल तथा सुरक्षा निकायसँग समन्वयपछि सेवा सुचारु गरिने बताए ।
पश्चिम क्षेत्र फाकफोकथुममा जेनजी पुस्ताले भौतिक क्षति गरेनन् । वडा वडामा आन्दोलनका कार्यक्रमहरु गरेपनि भौतिक संरचनामा आक्रमण भएन् । फाकफोकथुम गाउँपालिका–३ का वडाध्यक्ष दिपेन्द्र लिम्बुका अनुसार आन्दोलनका क्रममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा क्षति भएको छ भने भौतिक संरचनामा कुनै पनि असर नपरेको बताए ।
उनले विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले नाराबाजी गरेपनि भौतिक संरचना संरक्षण गरेको बताए उनले सेवा पुनः सुरु भइरहेको बताए । जिल्लामा तेश्रो सवैभन्दा बढि क्षति व्यहोर्ने गाउँपालिकामा रोङ रहेको छ । रोङको एउटा वडा कार्यालयमा क्षति पुगेको छ । रोङ गाउँपालिका–३ का वडाध्यक्ष मात्रिका बरालले वडा नं. २ मा ठूलो क्षति भएको बताए ।
उनका अनुसार वडा नं. २ को वडाध्यक्षको कार्यकक्ष जलाइएको छ भने मोटरसाइकल र प्रशासनिक भवनमा समेत क्षति पुगेको छ । उनले भने, “उपकरणमा क्षति भएकाले केही दिन समस्या हुन्छ, तर अन्य वडाबाट सेवा सञ्चालन भइरहेका छन् ।” पर्यटकीय गाउँपालिका जेनजी आन्दोलनको असर कम परेको छ । सन्दकपुर गाउँपालिकाका वडाध्यक्ष सनम राईका अनुसार पालिकामा कुनै क्षति नभएकाले सबै प्रकारका सेवा सहज रूपमा प्रवाह भइरहेको बताए ।
त्यस्तै इलाममा मुख्य राजनीतिक दलका कार्यालयहरुमा भने जेनजीका नाममा भएको आन्दोलनले क्षति पुगेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको कार्यालयमा आगजनी भएको छ । नेपाली कांग्रेस इलामका सचिव निराज खड्गीले आन्दोलनकारीहरूले विभिन्न कार्यालयका कागजात र फर्निचर लगायतका सामग्रीहरू जलाएको बताए ।
इलाम चोक बजारमा रहेको पिपिटावरमा आन्दोलनकारीले क्षति पु¥याएका छन् । विभिन्न कार्यक्रम र हाउजी खेलाएर चोक बजारमा निर्माण गरिएको टावरको सिसाहरु फुटाइएका छन् । संघीय र प्रदेश सरकार मातहतको कार्यालय मध्ये कर कार्यालयमा क्षति पु¥याइएको छ । कार्याललयको कागजपत्र र फर्निचर लगायतका संरचनाहरुमा आक्रमण गरिएको छ । जसका कारण केही समय सेवा प्रवाह हुन नसक्ने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार हालसम्म यकिन क्षतिको विवरण आइसकेको छैन । उनले भनिन्, “क्षतिको संकलन कार्य भइरहेको छ, केही दिनभित्रमा विस्तृत विवरण सार्वजनिक हुन्छ ।” अहिले क्षति भएको क्षेत्रमा स्थानीय युवा, जनप्रतिनिधि र सुरक्षा निकायको समन्वयमा सरसफाईको कार्य भइरहेको छ ।
