इलाम । शान्ति र लोकतन्त्रका लागि व्यावसायिक पत्रकारिताको पक्षमा उभिँदै नेपाल पत्रकार महासंघ इलाम शाखाले पत्रकारहरू असुरक्षित बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । जेन जेड समूहको आन्दोलनपछि देशमा नयाँ प्रधानमन्त्री नियुक्त भइसकेको अवस्थामा पनि इलाममा आन्दोलनसँगै तोडफोड र आगजनी गर्नेहरूकै सहयोगीहरूले पत्रकार र मिडियामाथि नामै तोकी सामाजिक सञ्जालमार्फत धम्की दिइरहेको महासंघले जनाएको छ ।
महासंघले शनिबार जारी विज्ञप्तिमा भनिएको छ–
“प्रदर्शनमा संलग्न व्यक्तिहरूले आफैंले फेसबुक, टिकटकलगायतमा पोस्ट गरेका भिडियो, फोटोका आधारमा कारबाहीको डरले दोष पत्रकारलाई थोपर्न खोज्नु अत्यन्त आपत्तिजनक छ । यसरी धाकधम्की दिनु प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार हो ।” विज्ञप्तिमा इलामका पत्रकारहरू धम्कीका कारण फिल्डमा काम गर्न असहज भएको र उनीहरू असुरक्षित महसुस गर्न बाध्य भएको उल्लेख छ । महासंघले प्रहरी–प्रशासनको ध्यानाकर्षण गराउँदै पत्रकार र मिडियाले शान्तिपूर्ण रूपमा काम गर्न पाउने वातावरण तत्काल बनाउन आग्रह गरेको छ । महासंघका अध्यक्ष भीम चापागाईं र सचिव टीका खतिवडाले हस्ताक्षर गरेको विज्ञप्तिमा धम्की दिने कार्य तुरुन्त रोक्न सम्बन्धित पक्षलाई चेतावनीसमेत दिइएको छ ।