Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

किसानको कृषि उपज बिक्रिको समस्या हुँदा खरिदको जिम्मा लिन्छ रोङ गाउँपालिका 

किसानको कृषि उपज बिक्रिको समस्या हुँदा खरिदको जिम्मा लिन्छ रोङ गाउँपालिका 

  • सुजन तिमल्सिना
  • शनिबार, भाद्र २१ २०८२


किसानको कृषि उपज बिक्रिको समस्या हुँदा खरिदको जिम्मा लिन्छ रोङ गाउँपालिका 
रोङ (कुटिडाँडा) । रबजारमा मुल्य कम भएको कृषि उपज खरिद गरि प्रशोधन गर्ने काम इलामको रोङ गाउँपालिकाले शुरु गरेको छ । किसानका बारीमा  उत्पादन भएको तरकारीको बजार मुल्य कम भएका बेला गाउँपालिकाबाट प्रवद्र्धन गरिएका सहकारीले खरिद गरि प्रशोधन गरि बजारीकरण शुरु भएको हो ।
रोङ गाउँपालिका ५ का चिन्तामणि लावरका बारीमा जब लटरम्ब करेला फल्यो, तब बजारभाउ ह्वात्तै घट्यो । व्यवासायीक रुपमा रोपिएको करेलाको मूल्य ह्वात्तै घटेपछि लावरलाई निल्नु न ओकल्नु भयो । तर रोङ गाउँपालिकाले सहकारीका माध्यमबाट किसानका बारीको उत्पादन खरिद गर्ने नीति लिएपछि चिन्तामणिका बारीका लटरम्ब करेला नास भएनन् ।
रोङ–५ कै दिपक राईले बजारमा करेलाको भाउ नहुँदा गाउँकै देवानछाप साना किसान कृषि सहकारी संस्थामा बिक्रि गरे । झापाका अक्सन बजारमा करेलाको मूल्य कम भएपछि राईले सहकारीबाट प्रतिकिलो २० रुपैयाँ पाए । ‘लागत मुल्य नै नउठ्ने गरि बजार मुल्य भएकाले त्यसै नष्ट हुने अवस्था थियो तर गाउँपालिबाट प्रवद्र्धन भएको सहकारीले खरिद गरेकाले त्यसै फ्याक्नु परेन’–उनले भने ।
किसानको करेलाले अहिले झापाका बजारमा राम्रो मुल्य पाएकाले तराई नै निर्यात हुँदै आएको छ । बजारमा मुल्य नपाएका बेला किसानको लागत खर्च नै नउठ्ने समस्या हटाउन गाउँपालिकाले सहकारीको माध्यमबाट कृषि उपज खरिद शुरु गरेको छ । सहकारीले अहिले किसानका बारीमा हुर्किएर नास हुन लागेको साग, करेला र बेसार खरिद गर्दैै आएको हो ।
किसानले उत्पादन गरेको तर, बजारमा मूल्य नपाएका बेला सहकारी संस्थाले कृषि उपज खरिद गर्छ । खरिद भएको कृषि उपज प्रशोधनका लागि उद्योग पनि स्थापना भएका छन् । किसानबाट खरिद गरेको करेला, साग र बेसार प्रशोधनबाट बजारीकरण हुँदै आएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए । बजार मुल्य नभएका बेला किसानको बारीमा नास हुन लागेको कृषि उपज खरिद गर्ने व्यवस्था गरेका छौँ । उनी भन्छन्–‘हामी किसानको उत्पादनले बजार नपाएको बेला हामी खदिर गरेर प्रशोधन गछौँ । गाउँपालिकाले यस्तो कार्यले कृषि उपजमा लाग्ने किसान खुशि भएको उपाध्यक्ष बिष्णुमाया भुजेलले बताइन् ।
सहकारीले करेलाबाट सुकुटी, सागबाट गुन्द्रुक र बेसारबाट धुलो बनाइ बजारमा बिक्रि गर्दै आएको छ । किसानको बारीमा नास हुने कृषि उपज खरिद गरि प्रशोधनबाट बजारीकरण गर्दै आएका कृषिजन्य सामग्रीलाई गाउँपालिकाले ‘रोङ ब्राण्ड’ दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार