फिक्कल । इलाममा आगामी असोज ४ गते रेड पाण्डा म्याराथन आयोजना हुने भएको छ । दिपज्योती युवा क्लब पाँचथर परियोजना कार्यालयको आयोजनामा रेडपाण्डा संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय म्याराथन आयोजना गर्न लागेको हो । म्याराथनको लागि १२२० मिटरको इलाम नगरपालिकाको चोक बजार देखि ३६१० मिटरको सन्दकपुर डाँडासम्म हुनेछ ।
म्याराथनको लागि ४४.२ किलोमिटर दुरी कायम गरिएको छ । रेडपाण्डा दिवसको अवसरमा आयोजना हुने म्याराथनमा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा दातृ निकाय प्ले फर नेचर रहेको छ । म्याराथनका लागि इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाले समेत सहकार्य गरेका छन् । नेपाली सेनाको रणशार्दुल गणले प्राविधिक सहयोग गरेको रेडपाण्डा नेटर्वकका राम रिमालले बताए ।
म्याराथनको बारेमा आयोजक संस्थाले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । हरेक वर्ष सेप्टेम्बर २० मा रेडपाण्डा संरक्षण दिवस मनाइन्छ, र यस वर्षको विशेष कार्यक्रमका रूपमा म्याराथनलाई समावेश गरिएको छ । दोश्रो संस्करण प्रतियोगितामा ३ विधामा प्रतिस्पर्धा हुनेछ । पुरुष र महिला तर्फ खुल्ला तर्फ विजेताले १ लाख ५० हजार, दोश्रोले १ लाख, तेश्रो हुनेले ५० हजार र चौथोले ३० हजार प्राप्त गर्नेछ ।
महिला र पुरुष विचको विभेद अन्त्य गराउने उद्धेश्य समेत राखेर पुरस्कार राशी समान राखिएको रिमालले जानकारी दिए । उनले करिब १ सय भन्दा बढि धावकहरु सहभागि हुने अनुमान रहेको बताए । विशेष रेडपाण्डा पाइने ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाबाट सहभागी हुने धावकहरूलाई स्थानीय विधामा विजेतालाई ६० हजार, दोश्रोलाई २५ हजार, तेश्रोलाई १० हजार र चौथोलाई ५ हजार राशी राखिएको छ ।
प्रतियोगितामा कुल ७ लाख २० हजार पुरस्कारमा खर्च हुने जनाइएको छ । नेपाल र भारतका धावक मात्र सहभागी हुने म्याराथनमा प्रवेश शुल्क बापत स्थानीयलाई ५ सय, नेपालीलाई १ हजार र भारतीयलाई १ हजार ५ सय तय गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैया खर्च हुने रिमालले बताए । म्याराथनका लागि दोश्रो पुरस्कार इलाम नगरपालिकाले उपलब्ध गराएको छ ।
सन्दकपुर गाउँपालिकाले म्याराथन रुट सरसफाई र समन्वयको कार्य गरेको सन्दकपुर–२ का वडाध्यक्ष सनम राईले जानकारी दिए । उनले पालिकाले गर्ने आर्थिक सहयोगको बारेमा निर्णय गर्न बाँकी रहेको बताए । म्याराथनका नेपालका राष्ट्रिय एवम अन्र्तराष्ट्रिय धावकले समेत सहभागिता जनाउन पाउने रेडपाण्डा नेटर्वकका कार्यक्रम निर्देशक वाङचु भुटियाले जानकारी दिए ।
अन्र्तराष्ट्रिय म्याराथन गर्ने लक्ष्य भएपनि बिमाको समस्याका कारण तेश्रो मुलुकका धावकलाई सहभागिता गराउन समस्या रहेको बताए । रेडपाण्डा पाइने क्षेत्र र खुल्ला सिमानाका कारण स्वास्थ्यमा समेत समस्या आए भारतमा उपचारका लागि लग्न सकिने भएकाले भारतीयलाई सहभागिता गराइएको बताए । प्रतियोगितामा सहभागिता जनाउने चाहने धावकले क्युआर मार्फत नाम दर्ता गर्न सकिने उनले बताए ।
पत्रकार सम्मेलनमा दिपज्योती युवा क्लबका सुनिल बान्तवा समेत सहभागी थिए । यस अघि पहिलो संस्करण ताप्लेजुङमा सम्पन्न भएको थियो । जसमा ८० जना सहभागि थिए । आयोजनाको मुख्य लक्ष्य खेलसंगै रेडपाण्डा संरक्षणको काम समेत रहेको वान्तवाले बताए । म्याराथन नाम राखेर प्रतियोगिता आयोजना गरिएपनि अप हिल रेसको मोडलको रुपमा रहेको प्राविधिक गणेश खतिवडाले जानकारी दिए ।
उनले म्याराथन रुटको कालपोखरी देखि सन्दकपुर डाँडासम्म ३ हजार मिटर माथिको हाइअल्टिच्युट रहेको कारण स्वास्थ्य सुरक्षाको समेत प्रबन्ध गरिने बताए ।
